राजेन्द्र महतो भन्छन्ः तिलाठीको घटना राष्ट्रियतासँग सम्बन्धित छैन
साउन – १५ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरी तिलाठीका जनताले भारतीय पक्षद्वारा निर्माण गरिएको बाँध फुटाएको घटनालाई राष्ट्रियतासँग जोड्न नहुंने बताएका छन् । सीमा क्षेत्रका मानिसहरुका बीचको विवादका रुपमा घटनालाई अर्थाएका महतोले सो घटनाले राष्ट्रियतासँग अर्थ नराख्ने टिप्पणी गरे ।
पत्रकार नारायण पौडेलसँग टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै महतोले खसबादी सोच भएकाहरुले मात्र सो घटनालाई राष्ट्रियतासँग जोडेर हेरेको बताए । तिलाठीलगायतका मधेशमा भारतीय पक्षबाट हुँने ज्यादतीका घटनामा किन पार्टी मौन रहन्छ भन्ने प्रश्नमा उनि पड्किएका थिए । सीमा क्षेत्रमा बनाइएका संरचनाले पानी जमेको र सो पानीले केही समयमा निकास पाउंने उनको भनाइ थियो । पटक पटकको प्रश्नपछि उनले जनताले गरेको प्रतिरोधमा आफ्नो समर्थन रहेको जनाएका थिए ।
अहिले तिलाठी घटनालाई राष्ट्रवादी भन्नेहरुले भोलि तिनै मधेशीलाई भारतीय देख्ने उनको भनाइ थियो । बांधलगायतका विषयमा सरकारले बोल्नुपर्ने उनको भनाइ थियो । यस्ता विषयमा भारतको विरोध गर्नलाई आफु आधिकारिक व्यक्ति नरहेको बताएका महतोलाई सरकारमा जाँदा के हेरेर बस्नुभएको थियो भनेर सोधिएको थियो । त्यसपछि महतोले आफुलाई अफ्ठयारोमा पार्नका लागि प्रश्न गरेको भन्दै कार्यक्रममा जङ्गिएका थिए ।
लालु यादवसँगको बसाई
नाकावन्दीताका महतोलगायतका नेताहरुले भारत बिहारका पूर्वमुख्यमन्त्री लालु यादवसँग भेट गरेका थिए । सो भेटमा महतोलगायतका मधेशी मोर्चाका शीर्ष नेताहरु पलास्टिकको कुर्सीमा लहरै बसेका थिए । यादब भने राजशी ठांटमा सोफामा थिए । सो बसाइका बारेमा सोधिएको प्रश्नमा महतोले आफुहरुलाई सहज लागेकाले अरुले प्रश्न उठाउन नपाउंने जवाफ फर्काए । महतोले रिसाउँदै उत्तर दिए, ‘नेपालमा सोफामा राखेर छुरी हानिन्छ । त्यहाँ पलाष्टिकको कुर्सीमा राखियो त के बिग्रियो । यस्तै कुराको पछि लागेर नेपाल डुबेको उनको भनाइ थियो ।’ कुटनीतिमा त आसनलेपनि अर्थ राख्छ भन्ने प्रश्नको जवाफमा महतोले आफुहरुलाई कुनै अर्थ नराख्ने जनाए ।
बाबुलाई नागरिकता दिएको सन्र्दभ
राजेन्द्र महतोले पहिला आफुले नागरिकता लिएको र त्यसपछि बुबालाई नागरिकता दिलाएको चर्चा हुने गर्दछ । सो विषयमा प्रश्न गर्दा उनले जसलाई पहिला आवश्यकता भयो उसैले लियो भन्ने जवाफ फर्काए । प्रश्नको उत्तर दिनुभन्दा पहिले नाटकीयरुपमा खित्का छोडेका उनले भने, ‘ यहां मलाई कतिपयले विदेशी भन्छन् । भनुन् । मेरो नागरिकताका बारेमा किन सोधिन्छ ? अरुको बारेमा किन सोधिदैन । म भुमीपुत्र हुं । अरुलाई के को चाँसो ।’
सरकारमा सहभागीता बारे
सदभावना पार्टीका अध्यक्ष महतोले प्रचण्डलाई निसर्त सहयोग नगर्ने स्पष्ट गरे । तत्काल सरकारमा जाने सम्भावनापनि नरहेको र सुशील कोइरालालाई जस्तो निसर्त मतदानपनि नगर्ने उनको भनाइ थियो । केपी ओलीलाई हराउनका लागि कोइरालालाई मतदान गरिएको तथा अहिले ओलीले राजिनामा दिइसकेकाले कसैलाई निसर्त सहयोग नगरिने उनको भनाइ थियो ।
कार्यक्रममा उनले मधेशी मोर्चा सम्बद्ध महन्थ ठाकुर र उपेन्द्र यादवलाई मुसा नमार्ने बिरालोको संज्ञा दिए । आफुले मुसा नमार्ने अरुको आलोचना गर्ने भन्दै उनले कडा टिप्पणी गरेका थिए ।
Narayan Poudel
Rajendra Mahato
Sadhbhawana Parti