ताजा खबर देश News

अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइए

अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइए
sukumbasi साउन -१५ । महोत्तरीको बर्दिवासमा शनिबार सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन् । रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्ती तथा नदी उकास संरक्षण समिति बर्दिवास र नागरिक समाजको सामूहिक निर्णयबाट भत्काइएको बर्दिवास नगरपालिकाले जनाएको छ । नदी उकास र पर्ती जग्गामा पछिल्ला केही दिनयता अतिक्रमण बढेर रातारात घर टहरा बनाउने क्रम बाक्लिएको थियो । गत बुधबार सम्पन्न सर्वपक्षीय बैठकको निर्णय अनुसार पर्ती र नदी उकास जग्गामा घरटहरा बनाएका बर्दिवास–९ का राजकुमार सिंहलाई तत्काल जग्गा खाली गर्न अनुरोध गर्दा त्यसको अटेर गरेर त्यसयता रातारात थप घर टहरा धमाधम बनाउन लागेपछि शनिबारअतिक्रमण गरेका घर टहरा हटाइएको नगरपालिका कार्यकारी अधिकृत तथा पर्ती तथा नदी उकास जग्गा संरक्षण समितिका संयोजक रामकुमार कार्कीले बताएका छन् । यता सिंहले भने अनाथका लागि बनाइएको आश्रम प्रहरी, प्रशासनको बलमा नगरपालिकाले भत्काइदिएको गुनासो गरेका छन् । बर्दिवासमा अहिले पर्ती र नदी उकास जग्गामा भएको अतिक्रमण हटाउनाका साथै त्यस्ता जग्गाको थप खोजी गरिने कार्य सँगसँगै बढाइएको छ । पर्ती र नदी उकास जग्गा खोज्ने र छुट्याउने अभियान अन्तर्गत पछिल्ला तीन दिनमै रातु नदी उकासका १०० हेक्टर जग्गा छुट्याएर   सिमेन्टको पक्की खाँबा गाडिएको छ । सो एकमहिने  अभियानअन्तर्गत नगरपालिका क्षेत्रका सबै पर्ती र नदी उकास जग्गा छुट्याइने कार्यकारी अधिकृत कार्कीले बताए । बर्दिवास नयर क्षेत्रमा ४०० हेक्टरभन्दा बढी पर्ती र नदी उकास जग्गा रहेको अनुमान छ । रासस 

mahottari

विशेष