अपराध सुरक्षा ताजा खबर News

रेडपाण्डाको संरक्षणमा गाउले नै जुटपछि....

रेडपाण्डाको संरक्षणमा गाउले नै जुटपछि....

Red Panda काठमाडौं, असार १७ । आफ्नो क्षेत्रमा पाइने रेडपान्डाको चोरीसिकारी हुन थालेपछि खोटाङको उत्तरी गाविस फेदीका स्थानीयवासी संरक्षण अभियानमा जुटेका छन् । संसारकै लोपोन्मुख मानिने वन्यजन्तु रेडपान्डाको चोरीसिकारी हुने गरेको थाहा पाएपछि उनीहरु संरक्षण अभियानमा जुटेका हुन् । आफ्नो क्षेत्रमा रेडपान्डाको चोरीसिकारी गर्नेको बिगबिगी बढेपछि रेडपान्डा पाइने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको संरक्षण समितिका अध्यक्ष ज्ञानकुमार राईले बताए ।

संरक्षण समितिले रेडपान्डा पाइने वनक्षेत्रमा रेडपान्डाको फोटोसहितको होर्डिङबोर्ड राख्ने, विद्यालय तथा गाउँगाउँमा पुगेर रेडपान्डाको महत्वका बारेमा अन्तरक्रिया र छलफल गर्नेलगायत क्रियाकलाप थालेको छ । मकालु र सगरमाथा राष्ट्रिय निकुञ्जको शृङ्खलासँग जोडिएको फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ् र छिमालुङ् सामुदायिक वनमा रेडपान्डा रहेको पाइएको छ ।

जिल्लाको पाथेका, नेर्पा, दोर्पालगायत अन्य गाविसको जङ्गलमा पनि रेडपान्डा पाइने गरेको स्थानीयवासीले बताएका छन् । जिल्लाको कुन कुन ठाउँमा रेडपान्डा रहेको छ भन्नेबारे अझै आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला वन कार्यालय खोटाङले जनाएको छ ।

Red Panda

विशेष