गर्मीमा सौन्दर्यता कसरी बचाउने
गर्मीमा सजगता अपनाउनु राम्रो हो । व्यस्त मानिसहरुको लागि त गर्मी मौसम अभिसाप जस्तै बन्छ । घरपरिवार तथा जागिर दुवै सम्हाल्नु पर्ने अवस्थामा व्यक्तिगत सजगता बढी आवश्यक हुन्छ । यो मौसममा छाला पोल्ने, खाना रुचि नहुने तथा असह्य गर्मीका कारण देखा पर्ने अन्य विविध समस्याका कारण जीवनशैली कष्टकर हुन्छ । तथापि गर्मी मौसमको विभिन्न प्रभावबाट बच्ने धेरै उपाय छन् जसलाई अपनाएर सुन्दर तथा स्वस्थ रहन सकिन्छ ।
छालाको हेरचाह सूर्यको अल्ट्राभ्वाइलेट किरणबाट बच्न छाता तथा सनग्लास अत्यन्त आवश्यक मानिन्छ । छालालाई सूर्यको प्रचण्ड रापले डढाएर कालो बनाइदिन्छ । एस.पी.एफ. ३५ भन्दा बढीको सनस्क्रिन लोसनले छालालाई सूर्यको प्रकाशबाट बचाउन सक्छ । मान्यता प्राप्त छाला विशेषज्ञबाट सल्लाह लिएर छालाको प्रकारअनुसार जेल, क्रिम, मोस्चराइजर तथा फेसियल प्रयोग गर्नुपर्छ । घाममा बाहिर निस्कनुभन्दा २०–२५ मिनेटअघि नै शरीरका खुल्ला अङ्गमा सनस्क्रिन लगाउनु पर्छ । घामको रापबाट छालालाई सुरक्षित राख्न उमेरअनुसार हप्ता वा महिनामा एकपटक फेसियल र चन्दन प्याक लगाउनु फाइदाजनक हुन्छ ।
खानपानमा ध्यान जाडोमा जस्तो गर्मीमा जे पायो त्यही खानु स्वास्थ्यको हिसाबले राम्रो होइन । गर्मीको तापका कारण शारीरिक सन्तुलन डगमगाउन सक्ने सम्भावना हुन्छ । रसिला फलहरू प्रशस्त मात्रामा खानुका साथै चिया, कफी, चिल्लो तथा मसलायुक्त खानाबाट टाढै रहनुपर्छ । ताजा फलफूल, सागसब्जी र पानी सकेसम्म बढी सेवन गर्नुपर्छ । जसले शरीरमा पानीको कमी हुन दिँदैन । फलफूलको रस, दूध, नरिवलको पानी आदिले छालाको चमक कायम राख्न ठूलो भूमिका खेल्छ ।
सौन्दर्य उपचार गर्मी, त्यसमाथि धूलो र धूवाँले छालाका साथै केशलाई समेत हानी पुर्याउँछ । शरीरबाट निस्कने पसिनाले केशको जरामा असर पुर्याउने भएकाले नियमित उपचार आवश्यक छ । छालाका लागि विशेषगरी हाइड्रो क्लिन्जिङ, फेसियल, फलफूलको फेसप्याक लगाउनु लाभकारी हुन्छ । घरमा बस्दा पनि ह्वाइटनिङ मास्क प्रयोग गर्नुपर्छ । स्तरीय सैलुन तथा पार्लरमा ह्वाइटनिङ ट्रिटमेन्ट गराउन सकिन्छ ।
सागसब्जी लाभकारी स्वास्थ्यको हिसाबले गर्मीमा सलाद उपयोगी हुन्छ । सलादमा टमाटरको प्रयोगले फाइदा गर्छ । प्याजबाट सकेसम्म टाढा रहनु राम्रो हुन्छ । प्याजले शरीरमा गर्मी बढाउँछ । ब्रोकाउलीलाई दैनिक आहारमा समावेश गरे त्यसले अनुहारको चमकलाई कायम राख्न मद्दत गर्छ । भेंडेखुर्सानी, बन्दागोभी पनि शरीरमा पानीको स्तर कायम राख्न सहयोगी हुन्छन् । गर्मीमा शरीरलाई आवश्यक भिटामिन तथा प्रोटिन प्राप्त गर्न खरबुजा, लिची तथा अंगुर सेवन गर्नुपर्छ ।
beautiful girl nepalaaja sunny day