बाढीपहिरोबाट देशभर छ जनाको मृत्यु, केही दिन निरन्तर वर्षात हुने

असार - १७ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा छजनाको मृत्यु हुनुका साथै धनजनको क्षति भएको छ ।
गृहमन्त्रालयका अनुसार पहिरोबाट सुदूरपश्चिमको दार्चुलामा तीन, ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलको पर्खाल भत्किएर दुई र सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पुष्पाञ्जली स्कुलको पर्खाल भत्किएर अन्य २० जना विद्यार्थी घाइते भएका छन् ।
त्यसैगरी पहिरोका कारण दार्चुलामा तीन र बैतडीमा तीनवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने धादिङ जिल्लाको रि गाविस–९ मा पहिरोको जोखिमा परेका छ परिवारका १९ जनालाई हेलिकप्टर र पैदमार्गबाट उद्धार गर्ने प्रयास भए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको मन्त्रालयले जनाएको छ । यस्तै नारायणगढ मुग्लिङ सडक र भरतपुर माडी सडक पहिरो र बाढीका कारण अवरुद्ध हुन पुगे छ
जल तथा मौसम विज्ञान विभाग, मौसमपूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भएकाले मुलुकमा अधिकांश जिल्लामा अझै केही दिन निरन्तर वर्षात भइरहन सक्ने सम्भावना भएकाले सतर्क अवस्थामा रहन र त्यसका लागि आवश्यक पूर्वतयारी गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ ।