भूकम्प पीडितकाे चामल सरकारले सस्तो मूल्यमा बेच्दै
असार - १८ । सरकारले भूकम्प पीडितका नाममा छिमेकी देशले पठाएको हजारौं क्विन्टल चामल कुहिन थालेपछि सस्तो मूल्यमा बेच्न थालेको छ ।
पीडितलाई १३ महिनासम्म बास (घर) को व्यवस्था गर्न नसकेको आलोचना खेपिरहेको सरकारकै निकाय नेपाल खाद्य संस्थानले १३ महिनाअघि चीन र बंगलादेशबाट पठाइएको चामल पीडितलाई वितरण नगरी बेच्न थालेको हो ।
दुई देशबाट पठाइएको एक लाख क्विन्टलमध्ये ३४ हजार क्विन्टल चामल खाद्य असुरक्षा स्थिति रहेको कर्णाली पठाउने निर्णय भए पनि योजना पेस नहुँदा कुहिने अवस्थामा छ । बाँकी ६४ हजार क्विन्टल चामल भने संस्थानले राजधानीका चोकचोकमा ट्रकले डुलाएर बेचिरहेको छ ।
गोदाममै मक्किन थालेपछि सरकारले मागेका बेला उपलब्ध गराउने गरी उक्त परिमाणको चामल नेपाल खाद्य संस्थानलाई जिम्मा लगाइएको थियो । संस्थानले तीन वटा ट्रकमा राखेर बजार डुलाइरहेको छ ।
लामो समय गोदाममा राख्दा गुणस्तर खस्किएर कुहिने अवस्था आएपछि बेच्न थालिएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले स्विकारे । ‘चामल कुहिन दिनुभएन,’ उनले भने, ‘४१ रुपैयाँ मूल्य निर्धारण गरेको भए पनि केही सस्तोमा बेचेका छौं ।’
सरकारको निर्णयलाई संस्थानले कार्यान्वयन गरेको बताए । ‘सरकारले मागेका बेला उपलब्ध गराउने गरी चामल बेचिरहेका छौं,’ उनले भने, ‘लामो समय गोदाममा राख्दा बिग्रिने सम्भावना हुन्छ ।’
यता, करिब ३४ हजार क्विन्टल चामल कर्णालीका चार जिल्लामा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत वितरण गर्ने एक महिनाअघि नै निर्णय भएको थियो । तर, त्यहाँका जनताले अहिलेसम्म चामल पाउन सकेका छैनन् । ३४ हजार क्विन्टलमध्ये ढुवानी गरेर कर्णाली पुर्याएको ४ हजार क्विन्टल चामल कुहिने अवस्थामा पुगेको छ भने करिब ३० हजार क्विन्टल चामल बाटोमा जाने क्रममा छ । नागरिक