निजामतीमा थपिए १ हजार ८४१ नयाँ दरबन्दी सिर्जना
असार - १८ । सामान्य प्रशासन मन्त्रालयले गरेको सङ्गठन व्यवस्थापन सर्वेक्षणले विद्यमान दरबन्दी अपुग भएको निष्कर्ष निकाल्दै एक हजार ८४१ नयाँ दरबन्दी सिर्जना गरेको हो ।
नयाँ दरबन्दी थप भएपछि निजामती सेवामा एक लाख तीन हजार दरबन्दी कायम भएको किताबखानाका शाखा अधिकृत कृष्णमणि फुयालले जानकारी दिए । हाल निजामती सेवामा करिब ८० हजारमात्र कर्मचारी कार्यरत छन् । बाँकी पद रिक्त छन् ।
सरकारले सिर्जना गरेका नयाँ दरबन्दीमा ९० प्रतिशत भन्दा बढी स्वास्थ्य सेवाका भएको सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता नन्दराज ज्ञवालीले जानकारी दिनुभयो । सरकारले सबै संवैधानिक निकाय, मन्त्रालयलगायत ३० निकायको नियमित सङ्गठन व्यवस्थापन सर्वेक्षण गरिरहेको जनाएको छ ।
यी निकायको सर्वेक्षण सकिएपछि पुनः दरबन्दीमा थपघट हुने सम्भावना छ । यसअघि सर्वेक्षण गरिसकिएका चौध निकायमा ५४ वटा विशेषसहित दुई हजार ५५ पद सिर्जना भए पनि सामान्य प्रशासन मन्त्रालयले केही पद मिलान गरी एक हजार ८४१ पद थप गर्नुपर्ने निष्कर्ष निकाल्दै दरबन्दी थपका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । गाेरखापत्र
Gorkha patra
nepalaaja