ताजा खबर News

मास्टर्स गरेका विद्यार्थी देशको ज्ञानमा कमजोर, ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने त्रिविको तयारी

मास्टर्स गरेका विद्यार्थी देशको ज्ञानमा कमजोर, ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने त्रिविको तयारी

tu

काठमाडौं, असार २० । विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारीसमेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ । मानविकी संकायमा मात्र होइन, इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा समेत अनिवार्य विषयको रूपमा ‘नेपाल स्टडी’ कसरी अध्यापन गराउने भनेर त्रिविको प्राज्ञिक परिषद्मा छलफल सुरु भएको छ । त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाले नेपाल स्टडी महत्तवपूर्ण विषय रहेको र यसलाई कसरी पढाउने भन्नेमा प्राज्ञिक परिषद्मा छलफल भएको जानकारी दिए ।

नेपाल स्टडीलाई छुट्टै विषय बनाउने वा अन्य विषयभित्रै नेपाल स्टडीका कन्टेन्ट राख्ने भन्ने कुराले आकार नलिएको उनले बताएक छन् । मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. चिन्तामणि पोखरेलले नेपाल स्टडी पढाउने विषयमा ‘फ्याकल्टी बोर्ड’बाट निर्णय भइसकेको बताए । डिन पोखरेलका अनुसार फ्याकल्टी बोर्डबाट पास भएर गएको नेपाल स्टडी सबै संकायका विद्यार्थीलाई अनिवार्य अध्यापन गराउन प्राज्ञिक परिषद्मा छलफल भएको हो । ‘अरु संकायमा पनि नेपाल स्टडी पढाउने विषयमा सहमति कायम भएको छ, तर कुन वर्ष वा कुन सेमेस्टरमा पढाउन सकिन्छ भन्ने टुंगो लागेको छैन,’ उनले भने ।

मास्टर्स डिग्री पढेका विद्यार्थीसमेतमा नेपालबारे जानकारी कमजोर रहेको पाइएकाले स्नातक तहमा यो विषय राख्न लागिएको हो । ‘एमए, एमई, एमबिए, एमबिएस गरेका हुन्छन् तर अधिकांशले नेपालको इतिहास, कल्चर जान्दैनन्,’ डिन पोखरेलले भने, ‘नेपालको शासन व्यवस्था र यहाँको वास्तविकताबारे पनि भ्रामक कुरा आइरहेका छन्, त्यस्ता भ्रम चिर्न पनि नेपाल स्टडी पढाउनुपर्ने आवश्यकता छ ।’ त्रिवि मानविकी संकायले नेपाल स्टडीको कोर्स तयार गर्दै छ ।

त्यसमा संस्कृति, इतिहास, साहित्य, कला, राजनीति, भूगोललगायतका विषय समेटिनेछन् । यो विषय कार्यान्वयन गर्न मानविकीमा समस्या नभए पनि टेक्निकल विषयमा अप्ठेरो रहेकाले व्यवस्था मिलाउन समय लागेको उनले बताए । नयाँ पत्रिका

TU Nepal

विशेष