४५ युवालाई प्रतिभा तथा उद्यमी प्रोत्साहन पुरस्कार
काठमाडौं, असार २० । युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कारबाट यो वर्ष ४५ जना पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पुरस्कारका लागि छनोटमा परेका युवाको नामावली आइतबार सार्वजनिक गरेको छ । उनीहरूलाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार २६ गते एक विशेष कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गर्ने मन्त्रालयका उपसचिव महेन्द्र पौडेलले जानकारी दिए । मन्त्रालयले युवा उद्यमीका साथै विभिन्न कार्यमार्फत युवाको क्षेत्रमा योगदान गर्नेलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्न लागेको हो । यसपटक पुरस्कारका लागि फागुन २८ गते आवेदन माग गरिएको थियो । मन्त्रालयका अनुसार विभिन्न सञ्चारमाध्यममा आएका समाचारका आधारमा गरी १०७ युवाको सूची तयार गरिएको थियो ।
त्यसमध्ये संस्थागतसहित ४५ जना छनोटमा परेका हुन् । युवालाई उद्यम र सामाजिक क्षेत्रमा योगदान गर्न प्रेरित गरोस् भनेर सम्मानित तथा पुरस्कृत गर्न लागेको मन्त्रालयको भनाई रकेको छ । पुरस्कृत हुनेमा पत्रकार सचित राई, मकवानपुरका तारामन स्याङ्तान, भक्तपुरकी दृष्टिविहीन सृष्टि केसी, धनकुटाको देउराली युवा क्लब, काठमाडौंका किरण अधिकारी पुरस्कारका लागि छनोट भएका छन् । त्यस्तै, पाँचथरका रूपन मगर र खड्ग मगर, रामेछापको शान्ति र विकासका लागि युवा साझेदारी नेपाल, सोलुखुम्बुका आङ्दावा शेर्पा, डडेलधुराका हीरालाल विक, काठमाडौंका गणेशविक्रम सिंह आले र यज्ञप्रसाद देवकोटा, मुगुका नेत्र शाह, नवलपरासीकी निर्मला सुवेदी पुरस्कृत हुनेछन् । यस्तै, जनहित युवा समाज खोटाङ, रौतहटका श्रीराम पण्डित, युथ ग्रिन क्लब काठमाडौं, लमजुङका वैशबहादुर तामाङ, सुनसरीकी नीलम ढुंगाना, गोरखाका कपिल देवकोटा, प्यूठानका पदम जीसी र ज्ञानबहादुर जीसी, भक्तपुरका सुन्दर श्रेष्ठ, तनहुँका विकल्प ढुंगाना, जाजरकोटका गगनबहादुर बुढाले पनि पुरस्कार पाउनेछन् ।
तनहुँका भीम श्रेष्ठ, रामेछापका शेरबहादुर मगर, सर्लाहीका एमजे झा, झापाका राजु शर्मा खतिवडा, चितवनका रामहरि सेढाइँ, कञ्चनपुरकी लक्ष्मी चौधरी, दाङकी बालिका गन्धर्व, झापाकै सुदीप गौतम, कास्कीका सूर्यप्रसाद लामिछाने, सुनसरीका डा. मधुर बस्नेत, ललितपुरकी कोकिला केसी, गुल्मीकी कमला खड्कालाई मरणोपरान्त, प्यूठानकी बिमाकुमारी कुमाल, गोरखाका गणेशबहादुर गुरुङ, सप्तरीका मिलनकुमार सिंह, दाङका मार्सल रोका, धादिङका इन्द्र तामाङ, ललितपुरकी सरला कार्की, भक्तपुरका मनोज भट्टराई, दोलखाका प्रकाश कोइराला, अर्घाखाँचीका सागर दर्जी परियार र नेत्रहीन युवा संघ नेपाल पनि पुरस्कृत हुनेको सूचीमा रहेको मन्त्रालयले जनाएको छ ।
Nepali Youth Youth Nepal