पर्वतका शंकरले खोपे पाखुरामा प्रचण्डको ट्याटु
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बारेमा मानिस मध्यमभागमा रहदैन । उनको आलोचना र समर्थनमा समाज विभक्त छ । नेपालको दुई दशक यताको राजनीति सकारात्मक वा नकारात्मक हिसवाले उनकै वरिपरि घुमिरहेको छ ।
उनी कहिले कसैको माध्यम बने त कहिले अरुलाई माध्यम बनाए । रोल्पा र दिल्ली बसेर काठमाडौं हल्लाए । हजारौंको घरबार उजाड बनाउने युद्धको नेतृत्व गरे । आवाज विहिनहरुलाई आन्दोलनमा होमिन सिकाए । सबैभन्दा बढी विवादमा तानिने नेतापनि उनै हुन् । सबैभन्दा बढी माला पहिरिने पनि सम्भवतः उनै होलान् । यिनी प्रचण्डका बारेमा पर्वतका शंकर गिरीले अनौठो लगाव देखाएका छन् ।
उनले आफ्नो पाखुरामा प्रचण्डले मुठ्ठी कसेको ट्याटु खोपेका छन् । देवदेवी, प्रेमप्रेमीको ट्याटु वा अरु त्यस्तै केही चिजको ट्याटु खोप्नु नौलो होइन । तर, नेताकै ट्याटु खोपिएको बाहुबली पाखुरा विरलै देख्न पाइनछ । जुंगासहितको प्रचण्डको ट्याटु आकर्षक देखिन्छ ।
हिजो प्रचण्डलाई क्रान्ति नायक भनेर भक्तिभाव दर्शाउने धेरै प्रचण्डलाई प्रतिक्रियावादी घोषणा गर्दै टाढा भएका छन् । प्रचण्डलाई गद्धार घोषणा गर्दै टाढिएकापनि फेरि टांसिएका छन् । शंकर गिरीका लागि कुनै दिन यो ट्याटु मेटाउनैपर्ने हुन्छ वा सधैंका लागि गौरबको विषय ? त्यो भने भविश्यको गर्भमा छ ।
Prachanda
puspa kamal dahal