३४ हजारसँग अनुदान सम्झौता

२० असार । सिन्धुपाल्चोकमा ३४ हजार ३६३ जनासँग आवास पुनःनिर्माणका लागि सम्झौता भएको छ ।
सम्झौता गरिएकामध्ये चौतारा नगरपालिका क्षेत्र सहितका एक हजार १९६ जनालाई प्रथम किस्ता बापत रु ५० हजारका दरले रकम बैंक खातामा जम्मा गरिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सम्पर्क कार्यालयका प्रमुख समेत रहनुभएका नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले जानकारी दिए ।
हाल चौतारा नगरपालिका सहित १४ गाविसमा सम्झौता सम्पन्न भइसकेको छ । मेलम्ची नगरपालिका र २१ गाविसमा सम्झौताको काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ ।
सुरुमा खाता खोल्न निजी बैंकलाई अनुमति नभएकाले बंैकको समस्या रहेकामा हाल निजी क्षेत्र समेतका १६ बैंकका २४ शाखा मार्फत खाता खोल्न लगाई अनुदान निकासा पठाइने अधिकृत लामिछानेले जानकारी दिनुभयो । जिल्लामा भूकम्पपीडितका आवास निर्माणका लागि रु एक अर्ब ७६ करोड निकासा प्राप्त भएको छ ।
भूकम्प गएको १४ महिना बितिसकेको र भर्खर मात्र केहीले पहिलो किस्ता पाए पनि खेती गर्ने र वर्षात्को समय भएकाले कामदार अभावका कारण आवास निर्माण गर्न भने नसकिने पीडित बताउँछन् । रासस