अपराध सुरक्षा अर्थ ताजा खबर News

प्रहरी चलखेलले आइजीपी दिक्क

प्रहरी चलखेलले आइजीपी दिक्क

upendra असार २१ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाउने चौथो प्रयास पनि असफल भएपछि नेपाल प्रहरीमा पाँचौं खेल सुरु भएको छ । केही प्रहरी अधिकारीको स्वार्थपूर्तिका लागि प्रहरी नियमावली नै संशोधन गरी आईजीपी फाल्ने खेल सुरु भएको हो । स्रोतका अनुसार आईजीपीको पदावधि तीन बर्ष बनाएर उपेन्द्रकान्त अर्याललाई हटाउने खेल सुरु भएको छ । त्यसैका लागि प्रहरी नियमावली संशोधन गर्न लागिएको छ । बिनाकारण दुई महिनादेखि मन्त्रिपरिषदमा प्रहरी नियमावलीको संशोधन मस्यौदा रोकिएको छ । केही प्रहरी अधिकारीहरुले नै उक्त मस्यौदा रोकेको स्रोत बताउँछ ।

हाल प्रहरी नियमावलीमा आईजीपीको पदावधी चार बर्ष हुने प्रावधान छ । जसअनुसार प्रहरी महानिरीक्षक अर्यालको कार्यकाल आगामी फागुनको पहिलो सातासम्म हुनेछ । तीन बर्ष चार महिना कार्यकालपछि अर्यालले ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउनेछन् । तर आईजीपीको पदावधि ३ बर्ष मात्र भए उनले आगामी कात्तिकको अन्तिम साता नै अवकाश पाउनेछन् । त्यसो हुँदा उनकै ब्याचका अन्य एआईजीहरु आईजीपी बन्ने बाटो खुल्ने छ ।

एआईजी सुरेन्द्र शाह र राजेन्द्रसिंह भण्डारी उक्त अभियानमा लागिरहेको स्रोत बताउँछ । आईजीपीलाई ३ बर्षमै अवकाश दिँदा एक एआईजीको पद पनि रिक्त हुन्छ । त्यसो हुँदा पहिले नै एआईजी भएर भावी आईजीपीको रुपमा आफ्नो स्थान बलियो बनाउने केही प्रहरी अधिकारीको पनि महत्वाकांक्षा पूरा हुने भएकाले उक्त खेल अघि बढेको स्रोत बताउँछ ।

प्रहरी महानिरीक्षक अर्याल पनि संगठनभित्र मौलाएको घिनलाग्दो राजनीतिले दिक्क भइसकेका छन् । सम्मानजनक अवकाश दिएको अवस्थामा उनी पनि पद जोगाउन धेरै दौडधुप गर्ने मनस्थितिमा छैनन् । आईजीपीको पदावधि घटाएर ३० वर्षे सेवाहद पनि हटाउने प्रस्ताव अर्यालले नै राखेका थिए । तर डीआईजीहरुले उक्त प्रस्ताव मानेका थिएनन् । प्रहरीको संघीयतासम्बन्धी अध्ययन कार्यदलले पनि ३० बर्षे सेवाहद हटाउन सुझाव दिएको छ । केही प्रहरी अधिकारी भने ३० वर्षे सेवाहद हटाउन दौडधुपमा लागेका छन् । दृष्टि साप्ताहिक

Upendra Kanta Aryal

विशेष