अमेरिकामा जिका रोक्न थप सर्तकता
एजेन्सी । अमेरिकाको स्वास्थ्य संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसि)ले गर्भवती महिलाहरुलाई लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमणबाट जोगाउन फ्लोरिडा राज्यको माइअमीमा संक्रमणको खतराबारे थप सचेत तुल्याएको छ ।
नयाँ जन्मने शिशुहरुमा गम्भीर स्वास्थ्य समस्या देखाउने उक्त भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने प्रयासलाई थप बलियो बनाउन सिडिसिका विज्ञहरु उक्त राज्यको माइअमी सहरमा जाँदैछन् । स्थानीय स्तरमा नै उत्पति भएको भाइरसको संक्रमण माइअमीमा थप १० जनामा देखिएको सोमबार त्यहाँका अधिकारीहरुले बताएका थिए ।
सिडिसिले गर्भवती महिलाहरुलाई उक्त क्षेत्रमा नजान सुझाएको छ । फ्लोरिडाको माइअमी सहरको उत्तर तर्फको एक माइलको सानो क्षेत्रफलमा अहिलेसम्म दुइजना महिला र १२ जना पुरुषमा गरि १४ व्यक्तिमा जिका भाइरसको संक्रमण देखिएको छ । स्थानीय लामखुट्टेको टोकाइबाट पहिलोपटक जिका संक्रमित भएका उनीहरु मध्ये ८ जनालाई रोगका विभिन्न लक्षणहरु देखिएको थियो भने बाँकीलाई संक्रमण भएको स्वास्थ्य अधिकारीहरुले गरेको जाँचमार्फत पत्ता लागेको थियो ।
भाइरसको संक्रमण हुने व्यक्तिहरुको संख्या बढेपछि यसले स्वास्थ्य निकाय सिडिसिलाई गर्भवती महिलाहरुलाई यसअघि दिइएको सुझाव परवर्तन गर्न बाध्य पारेको छ ।
Zika Virus