सौताको पिरलोले घर छाडे पनि ससुरा प्रचण्ड प्रधानमन्त्री बन्ने खबरले सिर्जना खुसी
‘पहिलो पटक बुबा प्रधानमन्त्री हुँदा हामी सँगै थियौं । यसपाली म पोखरामा छु । तर, मलाई खुशी भने उस्तै लागिरहेको छ । प्रचण्ड मेरो बुबामात्रै होइन, अध्यक्ष पनि हो । माओवादीका हरेक कार्यकर्ता जति खुशी छन् मपनि उत्तिनै खुशी छु । त्यसमाथि पारिवारिक सम्बन्धले म झनैं उद्देलित भएकी छु ।
धेरैले म घरबाट टाढा भएकाले ममा अर्कै भावना छ की भन्ठान्छन् । म घरबाट टाढा भएपनि पार्टी र परिवारकी सदस्य हुं । विविध कारणले म सो घरमा रहिरहन सकिन । बुबालाई सो मामिलामा मैले जोड्न आवश्यकपनि ठान्दिन । उहाँले माया र प्रेम नदर्शाएको भए सायदै म त्यति समयपनि सँगै रहन सक्थे । आज खुशीको दिन म विगतलाई विर्सेर बुबाको सफलतामा गर्व गर्न चाहन्छु ।
सँगै हुँदा बुबाको व्यस्तता नजिकबाट देख्दथें । उहाँलाई खानपीनका लागि समेत फुर्सद हुंदैनथ्यो । उहांको भेटघाटका कारण हामीपनि व्यस्त भइरहन्थ्यौं । बुबा अहिले एकदमै व्यस्त हुनुहुन्छ भन्ने लागेको छ । फोनमा समेत कुरा भएको छैन । तर, मलाई बुबाको राजनीतिक गतिविधि थाहा भइहाल्छ । संचारमाध्यममार्फत र पार्टी च्यानलमार्फत ।
प्रशिद्धलाई निमुनिया भएकाले मलाई तनावपनि छ । उसैको हेरचाहमा जुटेकी छु । पोखरा लगेर ल्याएको हो भर्खरै । मंसिर १ गते पाँच पूरा भएर ६ मा टेक्यो । अहिले यूकेजीमा पढ्दैछ । उसको स्वभाव र हाउभाउ हेर्दा हजुरबुबाको शैली देखिन्छ । छोराको आश र भरोसाले मलाई जिउंन सिकाएको छ । प्रसिद्ध परिवारबाट टाढा भएपनि उसको परिचय बुबासँग जोडिहाल्छ । यहाँ देख्नेले अहिल्यै देखि प्रधानमन्त्रीको नाति भन्न थालिसकेका छन् । उसलाई पनि बा प्रधानमन्त्री बन्न लागेको थाहा छ । तर, उसलाई राजनीतिक कुरा थाहा छैन ।
बुबालाई सुझाब मैले बुबालाई राम्रोसँग बुझ्ने अवसर पाएं । उहाँलाई देशको चिन्ता छ । पहिले पनि राम्रो गर्न खोज्नु भएको थियो । तर, अनुभवको कमी भएजस्तो लाग्छ । उहाँले छिटै केही गर्न चाहनुहुन्थ्यो । त्यो अनुसारको संयन्त्र थिएन । उहाँले आँटेका काम पूरा नहुँदा उहाँलाई मनोवैज्ञानिक दबाब पथ्र्यो । उहाँबाट दुनियाँको बेग्लै अपेक्षा हुन्थ्यो तर डेलिभरी हुनसक्दैन्थ्यो ।
अहिले बुबालाई दुईथरी फाइदा छ । एउटा उहाँलाई सरकार संचालनको राम्रो अनुभव प्राप्त भइसकेको छ । अर्को बुबासँग पहिलो कार्यकालमा जस्तो अनावश्यक अपेक्षाको चाङ पनि छैन । कर्मचारी संयन्त्रलाई पनि उहाँले बुझिसक्नुभएको छ । केही गर्न सक्ने स्थिति छ । बुबाले व्यवहारिक पक्षलाई मात्र ध्यान दिन सक्नुभयो भने देशलाई निकास दिने गरी सरकार संचालन गर्न सक्नुहुन्छ ।
परिवार बारे मलाई थाहा थियो तपाईले मेरो विगत जोड्न चाहनुहुन्छ । कम्तिमा पनि आजको दिन म मेरो विछोडयुक्त विगत बिर्सन चाहन्छु । खुशी छु आज म । वियोगको सन्दर्भ निकालेर म आफुलाई दुःखी बनाउन चाहन्न । मेरो सन्दर्भले बुबालाई अफ्ठयारो परोस् भन्ने म झनै चाहन्न । मैले तपाईलाई विश्वास गरेर यति कुरा भनेकी हुं । नबग्यांइ लेखिदिनुहोला ।’ (प्रचण्डकी बैधानिक बुहारी सृजना पति प्रकाशसँगको सम्बन्ध बिग्रिएपछि माइतीमा बस्दै आएकी छिन् । ससुरा प्रधानमन्त्री हुँदै गर्दाको अनुभुति जान्नका लागि हामीले उनीसँग टेलिफोनमा कुराकानी गरेका थियौं ।)