विचार News

प्रचण्डको भाषण सुनेर भाउन्न होला जस्तो भयो टिभी नै बन्द गरिदिएँ

प्रचण्डको भाषण सुनेर भाउन्न होला जस्तो भयो टिभी नै बन्द गरिदिएँ
[caption id="attachment_16373" align="aligncenter" width="950"]pradip Nepal (2) प्रदीप नेपाल, नेता नेकपा एमाले[/caption]

म त हिजो दाहालजी ( पुष्पकमल दाहाल प्रचण्ड)को भाषण टिभीमा सुन्दै थिएँ । उहाँको हावादारी भाषण सुनेर भाउन्न होला जस्तो भयो टिभी नै बन्द गरिदिएँ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा दाहालजी ओलम्पिकको समापनमा भाग लिन चीन जानुभयो । उहाँले हिजो भन्नु भयो कि त्यहीबेला चीनसँग विकासका सबैकुरा छिनिएको थियो रे । समापनमा १८० भन्दा बढी देशका प्रभावशाली व्यक्तिहरु पुगेका थिए । आयोजक चीनका राष्ट्रपति प्रधानमन्त्रीले एक दिनमा ती सबैसँग औपचारिकता पूरा गर्नुपर्ने बाध्यता हुन्छ । त्यो बेला विकास र राजनीतिका गम्भीर छलफल सम्भव हुँदैन भन्ने हामीलाई थाहा छैन र ?

दाहालजीले गरेको भाषण त लाजैमर्दो लाग्यो । यो बालापन हो कि के हो बुझ्नै सकिनँ । अर्को कुरा उहाँले विकासका लागि पैसा कहाँबाट आउँछ ? भनेर सोध्नु भयो । उहाँको पार्टीमा अर्थतन्त्रबारे अलि अलि बुझेका बाबुराम भट्टराई थिए उनी गइहाले । वर्षमानको पृष्ठभूमि नै फरक हो । राज्यले खर्च गर्ने पैसा कहाँबाट आउँछ, कसरी खर्च हुन्छ त्यो ज्ञान नै छैन । कसैसँग सल्लाह गर्ने बानी पनि छैन । टाकनटुकन भाषणले अहिलेसम्म पार्टीमा अध्यक्ष भइरहेका छन् । संसदमा भाषण गर्दा विकास गर्ने पैसा छैन भन्दा उनमा वाक कला पनि रहेनछ भन्ने देखियो । मैले त पूरै भाषण पनि सुनिनँ । दिक्क लाग्यो बीचमै टिभी बन्द गरिदिएँ ।

त्यो भन्दा पनि मूल कुरा हिजो प्रचण्डलाई प्रधानमन्त्री निर्वाचन जित्छु भन्ने त थियो । तर मानसिकता पराजित थियो । उहाँ हारेका सिपाइका रुपमा संसदमा ‘अन्टसन्ट’ बोलिरहनु भएको थियो । पराजित मानसिकता बोकेको एउटा प्रधानमन्त्रीबाट सुशासनको आशा गर्नु बेकार नै हो ।

कांग्रेस–माओवादीको अर्को मूर्खतापूर्ण काम के भने यीनीहरुले पहिले नै म्यादी सरकार गठन गर्ने सूचना चुहाए । नौ महिने म्यादी सरकार भनेर किन बाहिर ल्याउनु पथ्र्यो ? अब नौ महिने सरकारलाई सचिवहरुले टेर्छन ? पटक्कै टेर्दैनन लेखेरै दिन्छु । केपी ओली चलाख थिए, उनले एकोहोरो २०७४ साल माघसम्म यहि सरकार हुन्छ भनि नै रहे । ओलीलाई त सरकार ढल्दैछ भन्ने पहिले नै थाहा थियो, तर बाहिर भने उनले आफू बलियो प्रधानमन्त्री भएको भ्रम छरि नै रहे । त्यसमा उनी सफल पनि भए ।

ओली ‘महाज्याद्रा’

केपी ओलीलाइ नजिकबाट चिन्ने नेपालका १२ जनाको सुची बनाइयो भने त्यसमा म पनि पर्छु । मधेसमा आन्दोलन भयो । मान्छे मार्न मधेसीले नै शुरु गरे । यदि मान्छे मार्न मधेसीले शुरु नगरेको भए र शुरु देखि नै ओली प्रधानमन्त्री भएको भए ओलीले केही नबोली नै मधेसीलाई कायल पारिदिने थिए । केपी ओली यस्ता मान्छे हुन् यीनले नबोलेरै केही नभनेरै विपक्षीलाई हायल कायल पार्छन । यीनलाई कसैले ज्याद्रा भन्यो भने गलत हुन्छ, महाज्याद्रा भन्नु पर्छ ।

सपना देखाउने मामिलामा ओली एक नम्बर भइहाले । मैले के भनिरहनु पर्छ र अब । तर विपना कै काम पनि उनले गरेका छन् । तुइन विस्थापित गर्ने कामलाई सपना भन्न मिल्छ र ? यो काम साच्चै नै हुँदैछ । अब नयाँ सरकारले ओलीको काम किन गर्ने भन्यो भने बेग्लै कुरा हो ।

उत्तरबाट रेल ल्याउने कुरामा ओलीको वा प्रचण्डको भन्दा पनि चीनकै चासोको कुरा हो । यसमा पैसाको दुःख प्रचण्डले लिनु पर्दैन । पैसा कहाँबाट ल्याउँ भनेर प्रचण्डले भनेको सुनेर मान्छे बुहलाउन पनि सक्छन् । किनभने यीनै कृष्णबहादुर महरा हैनन र चीनसँग ५० करोड माग्ने ? त्यसरी पैसा मागिसकेपछि माओवादीले ५० करोड नलिइ छाडे होलान् र ?

माओवादीका नेतासँग जति पैसा अरु कोसँग होला र । पैसा कताबाट आउँछ भनेर सोध्नु जति दुनियाँ मूर्ख बनाउने अर्को विषय के होला ।

फास्ट ट्रयाक बनाउन ओली सरकारले १० अर्ब छुट्टयाएको छ । यदि दाहालजीले फास्ट ट्रयाकमा मात्रै पनि बेइमानी गर्नुभयो भने उहाँले राजनीति छाडेर देवघाटमा जोगी भएर बसे हुन्छ । उहाँको राजनीति नै सकिन्छ । नचाहेर पनि फास्ट ट्रयाकमा बेइमानी गर्न नसक्ने अवस्थामा उहाँ पुग्नु भएको छ । ओलीले थालेका काम अगाडि बढाउनुमै दाहालजीको पनि हित छ ।

केपी ओलीको लोकप्रियताको ग्राफ शिखरमा पुगेको बेला उनलाई ढालियो । यो काम ‘र’, कांग्रेस माओवादी जसले गरे पनि गलत नै गरे । बुद्धि भएकाहरुले गरेको काम होइन । बुद्धी हुन्थ्यो भने यो बेलामा ओली सरकार ढाल्ने नै थिएनन् ।

बुद्धीकै कुरा गर्दा माओवादीको बुद्धी देखेर पनि अचम्म लाग्छ । कांग्रेससँग सम्झौता गर्ने बेलामा आफैले लिएको गृह, आपूर्ति मन्त्रालयको काम राम्रो भएन भनेर किन लेख्नु परेको ? चारआनाको पैसा भइदिएको भए एमालेले लिएको मन्त्रालय निकम्मा भयो भनेर लेखेको भए पनि हुन्थ्यो । कम्तिमा लाज त जोगिन्थ्यो । ‘आफनै मन्त्रीहरु नालायक भए त्यसकारण ओली सरकार ढाल्नु परेको हो’ भनेर लिखितम् गर्नेहरुलाई म कुन उपनामले पुकारौं ?

सरकार ढलेको कारण

वैशाखमा गरेको नौ बुँदे पालना नभएको भनेर समर्थन फिर्ता लिने माओवादीको निर्णय देखावटी हो । नाटक हो । खासमा भारतले भनेको नमानेका कारण ओली सरकार कसिंगर बनेको हो । भारतकै डिजाइनमा माओवादी प्रयोग भएको हो । सत्य यही हो । कसैले पत्याए ठीकै छ नपत्याए पनि मेरो भन्नु केही छैन । उपनिवेशवादी सोच र अंग्रेज मानसिकताको अवशेष भारतीयहरुमा छ । त्यही भएर नेपालका प्रधानमन्त्री चाहीँ भारतबाट नियन्त्रीत हुनुपर्छ भन्ने उनीहरु ठान्छन् । त्यो कुरा ओलीले ठाडै खारेज गरिदिए । अब खारेज नगर्ने बाचा गरेर दाहालजी अगाडि आउनु भएको होला ।

 (एमाले नेता प्रदीप नेपालसँग भएको कुराकानीमा आधारित ।)  

Pradip Nepal

विशेष