News स्वास्थ्य

खोटाङमा एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

खोटाङमा एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती
ambulence साउन २० । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सास्ती भएको छ । लामो समयदेखि एम्बुलेन्स नचलेपछि बिरामीका आफन्तले डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउने गरेका छन् । एम्बुलेन्स नचलेपछि मान्छेलाई बोकाएर अस्पताल पुर्याउँदा खर्चसमेत बढी हुने खार्मी–५ का युवानेता हर्कराज राईले बताए । “मान्छेलाई बिरामी बोकाएर लैजाँदा समयमा अस्पताल पनि पुगिन्न”, उनले भने, “समयमा अस्पताल पुर्याउन नपाएपछि कतिपय बिरामीको बाटैमा ज्यानसमेत जाने गरेको छ ।” सदरमुकाम दिक्तेलमा समेत नचल्ने एम्बुलेन्स अहिले अस्पताल परिसरमा थन्किएको छ । जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पुर्याउने उद्देश्यले भारत सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । जिल्लाका सबै गाविसमा सडक सञ्जाल जोडिएको खोटाङ जिल्लामा अहिलेसम्म कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । केही सडक कालोपत्रका लागि प्रक्रियामा रहेपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पूरा हुन नसकेको हो । कच्ची सडकका कारण अहिले जिल्लामा एम्बुलेन्ससँगै कुनै पनि सवारीसाधन चल्न सकेको छैन । सवारीसाधन नचलेपछि जिल्लाका सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । रासस

birami behal khotang

विशेष