नवलपरासीको फलाम खानीलाई विभागले ड्रिलिङ गर्ने
साउन २० । खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने भएको छ ।
फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर यकिन गर्नका लागि अन्वेणनात्मक ड्रिलिङ गर्न थालिएको विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी दिएका छन् ।
उनका अनुसार दुई पटक सर्भे गरिसकेको उक्त खानीमा विभागले अन्वेणनात्मक ड्रिलिङपश्चात् फलामको परिमाण पत्ता लगाएपछि उत्खनन गर्ने छ ।
रामेछापको ठोसे र फुलचौकीको भएको फलाम खानीभन्दा गुणस्तरीय फलाम निस्कने भएकाले विभागले अन्वेणनात्मक ड्रिलिङ गर्न थालेको हो । तर नवलपरासीको उक्त फलाम खानीमा ४० देखि ६० प्रतिशत फलाम रहेको अनुमान गरिएको छ ।
रामेछापमा रहेको फलाम खानी फलाम उत्पादन गर्न योग्य नभएपछि सिमेन्ट उद्योगलाई दिइएको छ । रामेछापमा एक करोड टन फलाम खानी रहेको छ । फुलचौकीमा रहेको फलाम खानी पनि ४० प्रतिशतले भन्दा कम फलाम भएकाले फलाम उत्पादन नहुने भएपछि विभागले अन्य कम्पनीलाई उत्खननको लागि जिम्मा दिएको प्रवक्ता झाले बताएका छन् ।
नवलपरासीको धौवादीमा रहेको फलाम खानी जमिन माथि नै भएकाले ड्रिलिङ गर्न सजिलो हुने वरिष्ठ मेटलर्जिकल इन्जिनियर समेत रहनुभएको झाले जानकारी गराए ।
धौवादीमा १० किलोमिटर क्षेत्रसम्म उक्त फलाम खानी फैलिएको छ । करिब पाँच करोड टन फलाम खानी भएको प्रारम्भिक अध्ययनले देखाएको प्रवक्ता झाले जानकारी दिए । रासस
falam khani iron