विदेश

म्यानमारमा अज्ञात रोगका कारण तीस बालबालिकाको मृत्यु

म्यानमारमा अज्ञात रोगका कारण तीस बालबालिकाको मृत्यु
myan-MMAP-md साउन - २० । याङ्गुन (म्यानमार),  म्यानमारको उत्तरपश्चिम क्षेत्रमा मध्य जुनपछि फैलिएको अज्ञात रोगका कारण ३० जना बालबालिकाको मृत्यु भएको अधिकारीले बिहीबार बताएका छन् । हामीकहाँ विगत दुई महिनादेखि यो समस्या देखिएको छ र हामीले अहिलेसम्म सरकारबाट कुनै किसिमको सहयोग पाएका छैनौँ, स्थानीय प्रशासक काय साईले बताए । याङ्गुनबाट एक हजार ३०० किलोमिटर टाढा रहेको नागा क्षेत्रका न्यानहुन र लाहे नगरमा अज्ञात रोगका कारण यति धेरै सङ्ख्यामा बालबालिकाको मृत्यु भएको हो । भारतीय नागाल्यान्ड राज्यसँग जोडिएका यी क्षेत्र म्यानमारका अति गरिब समुदायको बस्ती हो । स्थानीय प्रशासक साईका अनुसार मृत्यु हुनेमा अधिकांश पाँच वर्ष मुनिका बालबालिका रहेका छन् । स्वास्थ्य अधिकारीहरूले बालबालिका कुन रोगका कारण मृत्यु भएको भन्ने कुरा एकीन गर्न नसकेको र केन्द्रबाट उक्त इलाकामा रोग नियन्त्रण गर्न कुनै सहयोग नआएको साईले बताए। उक्त अज्ञात रोगको प्रकृति हेर्दा सङ्क्रामक भएको बताइए पनि अहिलेसम्म पत्ता लागेको छैन । स्वास्थ्य अधिकारीले रगतका नमुना परीक्षणका लागि छिमेकी सागाइङ क्षेत्रस्थित एक अस्पतालमा पठाइए पनि रिपोर्ट आइपुगेको छैन । स्थानीयका अनुसार स्वास्थ्य मन्त्रालय वा सङ्क्रामक रोग नियन्त्रण विभागले प्रकोप नियन्त्रणप्रति अहिलेसम्म कुनै पहल गरेको छैन । स्थानीय प्रशासनले रोग प्रभावित क्षेत्रका मानिसलाई रोगको थप क्षेत्रमा प्रभाव नहोस् भनी अन्य गाउँमा नजान आग्रह गरेको छ । नागा क्षेत्र म्यानमारको अति कम विकसित इलाका हो र यहाँ आधारभूत स्वास्थ्य, शिक्षा र भौतिक संरचनालाई निर्मम बेवास्ता गरिएको छ । लाहे नगरको प्रतिनिधित्व गर्नुहुने स्थानीय सांसद लव योनले उक्त क्षेत्रमा यातायात, स्वास्थ्यकर्मी र औषधिको अपर्याप्तताका कारण प्रभावित हुँदै आएको छ । विकटता र पछौटेपनका कारण यहाँका नागरिकको सामान्य उपचारबाट निको हुने रोगबाट पनि जीवन गुमाउने गरेका उहाँको भनाई थियो । रासस÷एपी

Myanmar

विशेष