म्यानपावर सञ्चालकले नै बनाइदिए भारतिय नागरिकलाई पासपोर्ट
साउन २१ । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो । नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो । उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन् ।
दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी उनलाई कतारी अध्यागमनले नेपाल फर्काइदिएको हो । उनको भिसा शंकास्पद भएको भन्दै फर्काइएको हो । कतारबाट फर्काइएकी उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । आफू भारतीय भएपछि कतार जान नेपाली पासपोर्ट लिएको उनले बताएकी छन् । वैदेशिक रोजगारमा पठाउने व्यक्तिले नै आफूलाई नेपाली पासपोर्ट बनाइदिएको उनले विभागमा दिएको बयानमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय झापाबाट मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लिएकी हुन् ।
एमआरपी सक्कली भएको र भारतीयले कसरी सजिलै नेपाली पासपोर्ट लिइन् भन्ने सन्दर्भमा छानबिन अघि बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताए । विभागले जिल्ला प्रशासन कार्यालय झापासँग त्यससम्बन्धी विस्तृत विवरण माग गरेको छ । अर्काको नामबाट पासपोर्ट लिई वैदेशिक रोजगारीमा उनी मात्र होइन, अरू धेरै व्यक्तिहरू विभिन्न व्यक्तिको नामबाट पासपोर्ट लिई विदेश जाने गरेको अध्यागमन विभागको अनुसन्धानमा खुलेको छ ।
चितवन शिवनगरकी लक्ष्मी विश्वकर्मा पनि अरूकै एमआरपी लिएर कतार पुगेकी छिन् । पाल्पाकी सरिता नेपाली सार्कीको पासपोर्ट लिएर उनी कतार पुगेकी हुन् । उनी पनि श्रम स्वीकृति नलिई दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी थिइन् । उनको पनि भिसा नक्कली भएको भन्दै कतारको विमानस्थलले नेपाल फर्काइदिएको छ । उनलाई पनि अध्यागमन विभागले जाली राहदानी मुद्दामा कारबाही अघि बढाएको छ ।
Nepali Passport