उत्तरपूर्वी भारतमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्याे
साउन - २२ । उत्तरपूर्वी भारतीय राज्य असामको कोकराझारको एक व्यस्त बजार इलाकामा शुक्रबार बन्दुकधारीहरुको एक समूहले गरेको अन्धाधुन्द गोली प्रहारमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ पुगेको छ ।
घाइतेमध्ये तीन थप व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या १५ पुगेको बताइएको छ । घाइते मध्ये एक व्यक्तिको शनिबार बिहान र दुईको गएको राति मृत्यु भएको थियो ।
शंकास्पद नेशनल डेमोक्रेटिक फ्रन्ट वोदोल्याण्डका लडाकू समूहले शुक्रबार गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्नुको साथै अन्य २० घाइते भएको बताइएको छ ।
सुरक्षा कारबाहीमा मारिएको एक आक्रमणकारीसहित सो आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १५ पुगेको असामका स्वास्थ्य मन्त्री हिमान्ता विश्व सर्माले एएफपीलाई शनिबार बताएका छन् ।
प्रहरीका अनुसार शुक्रबार भएको यस आक्रमणमा छ जना बन्दुकधारीहरुको सहभागीता रहेको थियो । एक आक्रमणकारी भने प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीले अन्य आक्रमणकारीहरुको खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।
गत दुई वर्षयता असामको सोही इलाकामा भएको जातीय हिंसामा परी करिब एक सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार लाखभन्दा बढी विस्थापित भएका छन् । रासस÷एएफपी
bharat ma mirtu