News

सर्प बारे समाजमा फैलिएका भ्रम जानी राखौं, अनि नागपञ्चमी मनाऔं

सर्प बारे समाजमा फैलिएका भ्रम जानी राखौं, अनि नागपञ्चमी मनाऔं

साउन २३ । आज नागपञ्चमी । तपाई हिन्दु हुनुहुन्छ भने तपाईको घरमा पनि आज नाग टाँसियो होला । नागपञ्चमीमा नाग वा सर्पको पूजा हुन्छ । सर्प भगवान शिवको घाँटीमा हुन्छ । पुराणहरुमा विभिन्न किशिमका नागको वर्णन पाइन्छ । नागलाई देवताको रुपमा पूजा गरिन्छ । एकातिर सर्पलाई देवताको रुपमा पूजा गर्ने अर्कोतिर सर्प देख्नेसाथ मारिहाल्ने काम तपाई हामी नै गर्छौै । तर सर्पले किराफट्यांग्रा खाएर इकोसिस्टमलाई सन्तुलित बनाइ राख्छ । सर्पको विषबाट क्यान्सर, मुटुरोग, पाकिन्सन आदिको औषधि बनाइन्छ । बर्सेनि सर्पको पुजा चाहीँ गर्ने तर सर्पकै बारेमा आजिवन भ्रम पालेर तपाई हामी बाँचिरहेका छौं भन्दा फरक पर्दैन । सर्पका बारे तपाई हामीले थाहा पाएको भ्रम र वास्तविकता के के छन् ? यो पढौं ।

१. सर्पले दूध पिउँदैन– आज नागपञ्चमीमा काठमाण्डुको नागपोखरीमा रहेको मूर्तिमा धेरै दूध खन्याइन्छ । जीवीत सर्पलाई पनि दूध खुवाउने गरिन्छ । यदि तपाई विज्ञानमा विश्वास राख्नु हुन्छ भने यो मान्नुस कि सर्पले हम्मेसी दूध पिउँदै पिउँदैन । सर्प वा रेप्टाइलहरु चिसो रगत भएका प्राणी हुन् । यस्ता जीवका लागि दूध पाच्य नहुने खाद्यवस्तु हो । भारतमा सर्प खेलाउनेहरुले नाग पञ्चमीभन्दा ३०–४५ दिनअगाडि देखि सर्पलाई तरल खुवाउँदैनन् । नागपञ्चमीसम्म आइपुग्दा त्यस्ता सर्पको शरिरमा जलवियोजन धेरै भइसकेको हुन्छ । त्यस्तो अवस्थामा केही मात्रा दुध सर्पले पिउँछ । यसै आधामार सर्पले दूध पिउँछ भन्ने भ्रम फैल्याइन्छ । सामान्य अवस्थामा सर्पले तरल पिउँदैन ।

२. बदला– सर्पका बारेमा बनेका चलचित्रहरुका कारण सर्पले बदला लिन्छ भन्ने भ्रम पनि छ । सर्पले १२ वर्षसम्म घटनाहरु सम्झन्छ र बदला लिन्छ भन्ने गरिन्छ । खासमा सर्पको मस्तिष्कको विकास त्यसै भएकै हुँदैन कि १२ वर्षसम्म कुनै घटना याद भइरहोस ।

३. बिन बजाएर सर्प नचाउने– भारतमा नागिन भन्ने सिनेमा चल्दा बिन बजाएको आवाजले सिनेमा हलमा सर्पहरु धेरै आए भन्ने हल्ला फैल्याइयो । सर्पको चटक देखाउनेहरुले बिन बजाएर सर्प नचाएको त तपाई हामीले पनि देखेका छौं । खासमा सर्पले बिनको आवाज सुनेर नाचेको होइन । किनभने सर्पको कान नै हुँदैन । सर्पको जिब्रोले तरंग महशुस गर्छ । त्यसकै आधारमा आफ्नो आहारा खोज्छ । बिनमा झुण्ड्याएको झुम्का आदि हेरेर त्यसकै आधारमा सर्पले प्रतिक्रिया जनाएको हुन्छ । त्यसलाई बिनको आवाजमा सर्प नाचेको भनेर परिभाषित गरिन्छ ।

४ टाउकोमा मणि हुँदैन– सर्पको टाउकोमा मणि हुन्छ भन्ने विश्वास पनि छ । खासमा त्यस्तो मणि हिरा वा अन्य बहुमूल्य पत्थर केही पनि सर्पका टाउकोमा हुँदैन । सर्पबारे लेखिएका कथा, बनेका चलचित्र, किम्बदन्ती आदिका कारणले यस्तो भ्रम समाजमा फैलिएको छ ।

विषालु सर्पले टोक्यो भने ज्यान जान पनि सक्छ । तर याद राख्नुहोस् सर्पले बिना कुनै कारण कसैलाई पनि टोक्दैन । अक्सर सर्पले आत्मसुरक्षाकोलागि अरुलाई टोक्छ । कतिपय अवस्थामा टोक्नुको कारण नखुल्न पनि सक्छ । धेरैजसो सर्पहरुको आँखा धेरै कमजोर हुन्छ । सर्पहरुले कुनै पनि वस्तु स्पष्ट देख्दैनन् ।

विशेष