प्रधानमन्त्री प्रचण्ड छोराको नियुक्ति र राजदुत फिर्तीका कारण पार्टीमा आलोचित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशलाई सचिवालयमा नियुक्त गरेपछि माओवादी केन्द्रमा तरंग पैदा भएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुका लागि आचारसंहिता बनाएको थियो । सो आचारसंहितामा मन्त्रीहरुले आफन्त र परिवारका सदस्यलाई सचिवालयमा राख्न नपाउने उल्लेख गरिएको थियो ।
नेता नारायणकाजी श्रेष्ठ संयोजकत्वको समितिले बनाएको सो मापदण्डले मन्त्रीहरुलाई नातावाद, कृपावाद र भ्रष्टाचारबाट टाढा राख्ने लक्ष्य राखेको थियो । मापदण्ड लागू गर्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘यो मापदण्ड पार्टीको स्थायी मापदण्ड भन्दापनि हुन्छ । कडाइका साथ लागू गरिनेछ । दायाँबायाँ गरे कारबाही गरिनेछ । सरकारमा राम्रो गरे पार्टी बन्ने हो ।’ अध्यक्ष प्रचण्ड बुधबार प्रधानमन्त्रीमा नियुक्त भएपछि माओवादीमा भिन्दै उत्साह पैदा भयो । माओवादीजनले पार्टी र देश परिवर्तनको अवसरका रुपमा प्रचण्डको विजयलाई अर्थाए ।
शुक्रबार पार्टी नेताकार्यकर्ता छाँगाबाट खसेजस्तो भए जब उनीहरुले पुत्र प्रकाशलाई सचिवालयमा नियुक्त गरिएको खबर पाएँ । हेडक्वार्टरमा रहेका एक नेताले जनाएअनुसार प्रधानमन्त्रीको सचिवालयमा ककस्लाई राख्ने भन्नेबारेमा कुनै छलफल भएन । पार्टी प्रवक्ता पम्फा भुसाललाई धेरै पत्रकारले फोन गरिरहेका थिए । सचिवालयमाको पर्यो भन्ने प्रश्नको जवाफमा उनी भन्दैथिइन्, ‘भरेभोलिसम्ममा टुंगिएला । छलफल हुंन बाँकी छ ।’ पम्फालाई के था ? प्रधानमन्त्री प्रचण्ड यता नियुक्त गरिसकेका थिए, त्यसमा एक थिए छोरा प्रकाश ।
प्रकाशको नियुक्तिपछि ओली सरकारको क्याबिनेटमा रहेका मन्त्रीहरुले सबैभन्दा बढी चित्त दुखाएको बुझिएको छ । ‘अध्यक्षले आफ्नो हात जगन्नाथ गर्नुभयो । हामीलाई मापदण्ड लगाएर राम्रै भयो । अध्यक्षले पनि पालना गरेको भए यो सबैका लागि बाध्यकारी बन्थ्यो । अध्यक्षको आर्दशपनि स्थापित हुन्थ्यो ।’ एक पूर्वमन्त्रीले नेपालआजसँग गुनासो गरे । स्रोतका अनुसार मापदण्ड निमार्ता नारायणकाजी श्रेष्ठको असन्तुष्टि बढेको छ । उनले आफु निकट र आफुले भनेको सुन्ने नेताहरुसँग पार्टी निर्माणका लागि गलत कामको साक्षी बस्न नहुंने भन्दै लबिङ गरिरहेको बताइएको छ ।
श्रेष्ठले पार्टी र अध्यक्ष स्वंयका लागि यो अन्तिम अवसर भएकाले पारिवारिक उल्झनका कारण समग्र चिज बिगार्न नहुंने भन्दै निर्णय फिर्ता गराउन पहल गर्ने बुझिएको छ । श्रेष्ठ निकट रहेका एक माओवादी नेताले भने, ‘वहांबाट हामीले क्रान्तिकारी कार्यशैलीको अपेक्षा गरेका छौं । सचिवालयमा छोरा नै राख्नुपर्ने कारण के आइलाग्यो बुझ्न सकिएन । छोराका कारण अध्यक्ष बेलाबेला विवादमा परिरहने तर छोरालाई उहाँले काखी च्याप्न नछोड्ने कुरा अचम्म लाग्दो छ । बोल्न कोही तयार छैन । नबोले पार्टी बन्ने छाँट छैन ।’
श्रेष्ठ पक्षले आफुहरुलाई माइनस गर्न खोजिएको ठहर गरेको ति केन्द्रीय नेताले जानकारी दिए । मन्त्रीहरु चयनपनि एकतर्फी हिसावले गरिएको र सचिवालय फर्मेसनमा मतलबसमेत नगरिएको भन्दै श्रेष्ठ पक्ष आक्रोशित छ ।
नारायणकाजीको सार्वजनिक टिप्पणी
मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको सरकारले प्रस्तावित गरेका राजदुतको नाम फिर्ता लिने निर्णय गर्यो । प्रधानमन्त्री प्रचण्डले त्यस्तो महत्वपूर्ण निर्णय गर्दा पार्टीको विदेश विभाग हेर्ने नारायणकाजी श्रेष्ठसँग कुनै छलफल नै गरेनन् । सामान्यतयाः कम्युनिष्ट पार्टीको सरकारलाई पार्टीले निर्देशित गर्दछ । सामाजिक संजाल र संचारमाध्यमबाट मन्त्रिपरिषद्को निर्णय थाहा पाएपछि श्रेष्ठले आक्रोश थाम्न सकेनन् । अचम्मको कुरा भन्दै उनले सामाजिक संजालमा असन्तुष्टि व्यक्त गरे । एमाले–माओवादी गठबन्धनको निरन्तरताको पक्षमा रहेका श्रेष्ठले अध्यक्ष प्रचण्ड अफ्ठयारोमा पर्दै गएको निश्कर्ष निकालेको बताइन्छ । केही समय पार्टीभित्रको अन्तरसंर्घषलाई जोडदार बनाउने तर अध्यक्षको कार्यशैली नसच्चिए कठोर निर्णय लिने श्रेष्ठ पक्षधरको निष्कर्ष छ । कठोर निर्णय के हो खुलाइएको छैन ।
चाकडीबाजहरुको चर्तिकला
माओवादीमा अर्को प्रसंग चर्चामा छ । त्यो चाकडी गर्नेहरुको तछाडमछाड । नेपाल आजसँग कुरा गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षको बिरोध गर्ने टिक्न सक्ने अवस्था छैन । बादल दाइ त आएर लड्डु बाँड्ने स्थिति छ । हामीसँग कुरा गर्दा प्रकाशको नियुक्तिको बिरोध गर्छन, उता प्रकाशको फेसबुकमा बधाइ भन्दै भजनकिर्तन गाउंछन् ।’
प्रचण्ड पुत्र प्रकाशको फेसबुकमा बधाइ दिने अधिकांश माओवादी केन्द्रका केन्द्रीय सदस्य देखिए । उनिहरु मध्ये अधिकांश बन्द कोठामा हुँदा पार्टीमा परिवारवाद बढेको र अध्यक्षले परिवारको घेरा तोड्न नसकेकोे भन्दै आलोचनाको बर्षा गर्ने गर्दछन् । ति केन्द्रीय सदस्यले भने, ‘बधाइ दिनेहरु धेरै छन् । रमेशजी (रमेश मल्ल) लाई बधाइ दिने कम छन् । प्रकाशलाई बधाइ दिनेको लहरो छ । मुखमा राम राम बगलीमा छुरा भनेजस्तो प्रचण्ड र प्रकाशको भक्ति गर्ने तर भित्रभित्र खन्ती लाउने यिनैका कारण पार्टी खत्तम हुंदैछ ।’