ताजा खबर News

‘हामीसँग समय एकदमै कम छ, दायाँबायाँ भयो भने आवश्यक स्टेप लिन्छु ।' - प्रधानमन्त्री दाहाल

‘हामीसँग समय एकदमै कम छ, दायाँबायाँ भयो भने आवश्यक स्टेप लिन्छु ।' - प्रधानमन्त्री दाहाल
prachanda-nepalaaja साउन - २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुधार गर्नुपर्ने कामबारे तीन दिनभित्र सुझाव दिन सचिवहरुलाई निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव र सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले सुझाव मागेका हुन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि सचिवहरुसँगको छलफलमा उपस्थित थिए । सो छलफलमा कडारुपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘हामीसँग समय एकदमै कम छ । हरेक दिनको रिजल्ट ग्राफ देखिने गरी चाहियो । दायाँबायाँ भयो भने आवश्यक स्टेप लिन्छु । म क्रम भंग गर्ने मान्छे हुँ ।’ उनले सचिवहरुले मन्त्री छान्ने र मन्त्रीहरुले सचिव छान्ने प्रवृत्ति अन्त्य गर्ने बताए । उनले भने, ‘सचिवहरु मुख्य सचिव मातहत रहन्छन् र मन्त्रीहरु प्रधानमन्त्री मातहत रहन्छन् । मन्त्रीले सचिव छान्ने वा सचिवले मन्त्री छान्ने अवस्था अन्त्य गर्नुपर्छ ।’ सरकारका ६ प्राथमिकता छलफलमा प्रचण्डले सरकारका मुख्य ६ प्राथमिकतामा रहेर आफ्ना कुराहरु राखेका थिए । प्रचण्डले संविधान कार्यान्वयन गर्ने र सर्वस्वीकार्य बनाउने सरकारको पहिलो चुनौति रहेको बताए । मधेसी समुदायका माग सम्बोधन गर्दै सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ थियो । प्रचण्डले शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै ‘फरगिभ र फरगेट’ (क्षमा दिनुस् र बिर्सिनुस्) भन्ने स्पीरिटमा रहेर काम गर्न निर्देशन दिएका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम अन्तिम चरणमा पुर्याएको भन्दै उनले विस्तृत शान्ति सम्झौताको मूल भाव पनि क्षमादिनुस् र बिर्सिनुस् भन्ने नै रहेको बताए । यसैगरी पुनर्निर्माण तथा नवनिर्माणको कामलाई तिव्रता दिन र भूकम्प पीडितलाई ४५ दिनभित्रै पहिलो किस्ताको रकम पुर्याउन प्रचण्डले सचिवहरुलाई निर्देशन दिए । ‘भूकम्प पीडितहरुले ४५ दिनभित्र पहिलो किस्ताको रकम पाउनैपर्छ,’ उनले भने । यसअघि प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषदको बैठकले भूकम्प पीडितहरुलाई ४५ दिनभित्र पहिलो किस्ताको रकम वितरण गर्ने, गरिबसँग सरकार अभियान चलाउने र तीन महिनाभित्र सबै जिल्लाका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक पुर्याउने लगायतका निर्णय गरेको थियो ।

nirdeshan pm dahal

विशेष