ताजा खबर News

चन्द्रागिरी केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैँया शुल्क निर्धारण

चन्द्रागिरी केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैँया शुल्क निर्धारण
kebulkar साउन २५ । मंगलबारदेखि काठमाडौंको चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ । निर्माता कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैयाँ शुल्क निर्धारण गरेको छ । भालेश्वर मन्दिरको वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरेर केबलकार आंशिक रुपमा खुला गरिएको हो । कार्याक्रममा चन्द्रागिरी नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीयलाई आमन्त्रण गरिएको थियो । हिजो एकैदिनमा १० हजार भन्दा बढीले निःशुलक ‘टेष्टराइड’ गरेका थिए । काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रागिरीको उचाइ २५५१ मिटरको छ । भाल पतन भएर उत्पत्ति भएका महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख छ । भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको हो । भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्णहुने जनविश्वास रही आएको छ । चन्द्रागिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम स्थल पनि हो । घना जङ्गलले ढाकिएको चन्द्रागिरी मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षण–क्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ । चन्द्रागिरी चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन पनि गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चन्द्रागिरी पहाड गन्तव्य स्थल हो । हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ ।

chandragiri kebulkar

विशेष