गुमनाम कर्मबीरको सम्भावित मन्त्रालय यात्रा, कर्मचारी आच्छु–आच्छु पार्लान !
साउन – २५ । माओवादीको पालुङटार बैठकका लागि करोडभन्दा माथिको क्याटरिङ ठेक्का हुनेवाला थियो । धेरैले निवेदन दिए । त्यसमध्येको एक थियो संगम क्याटरिङ ।
संगम क्याटरिङका संचालकले बैठक व्यवस्थापन समितिका संयोजकसँग आफूलाई जिम्मा दिए ५ देखि १० प्रतिशत कमिसन पनि दिन सकिने प्रस्ताव गरे । संयोजकको माया लाग्दो मुहारमा फिस्स मुस्कान देखियो । ‘काम राम्रो गर्नुहोला, कमिसन चाहिदैन ।’
मौका पायोः संगम क्याटरिङले नै । बैठक लम्बियो । क्याटरिङले हजारौं माओवादीलाई मज्जैले भोजन गरायो । बैठक सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएको खबर पठाइयो ।
संयोजकले पोल खोले । उहाँले मलाई कमिशनको प्रस्ताव गर्नुभएको थियो । संगम क्याटरिङ संचालकको सातो गयो । उनीले तल मुन्टो लगाए । प्रचण्डले बक्सिसस्वरुप १ लाख थपिदिए । ‘कमिसन चाहिएन, राम्रो गरेकोमा थपिदिएं,’ बैठक व्यवस्थापन समितिका संयोजकले यति भन्दा क्याटरिङ संचालकलाई पत्यारै लागेन ।
तिनै संयोजक अर्थात हितराज पाण्डे स्थानीय विकास मन्त्री भएका छन् । उनी मजदुर झैं पालुङटार बैठकको व्यवस्थापनमा खटिएका थिए । सार्वजनिक जीवनमा आएपछि उनको खटनपटन देखिने माध्यम बन्योः पालुङटार बैठक । उनी अरुलाई खटाउनभन्दा आफैं खटिन्छन् । बृहत्त छलफल गरेर भन्दा सानो घेरामा बसेर निर्णय लिन्छन् । निर्णय क्षमता कमजोर भएपनि लिइएको निर्णय कार्यान्वयन गर्न यिनी ज्यान फालेर लाग्छन् । स्वभाव संक्रिण छ । तर, जीवन सादा र शालिन ।
प्रचण्डप्रति बफदार यी पुराना नेता कहिल्यै चर्चामा आउन चाहेनन् । पार्टीको केन्द्रीय कार्यालयको सचिव भएर लामो समय बसे । सायदै, कुनै संचारमाध्यममा यिनले पाइलो हाले । उनी मासमा गएर प्रभाव छोड्ने व्यक्तित्वका धनी छैनन् । हेर्दा पनि खाशै पत्यार लाग्ने खालका छैनन् । तर, लागेको कामलाई फत्ते नगरि छाड्दैनन् ।
पेशाले यि शिक्षक थिए । गोरखाका पाण्डे पूरै परिवारसहित युद्धमा लागे । युद्धमै यिनले जेठा छोरा गुमाए । प्रचण्डको सदैब नजिक भएपनि यिनले राज्यको सुविधा लिएका थिएनन् । पहिलो पटक मन्त्री भएका हितराज पाण्डे बरिष्ठ भइकन पनि सार्वजनिक छबी बनाउन नसकेका नेता हुन् । उनीभन्दा कनिष्ठसमेत पटकपटक मन्त्री र सांसद हुँदा यि भने गुमनाम जस्तै रहे ।
हितराज पाण्डेलाई धेरैले कर्मबीर भन्छन् । एक माओवादी नेता उनलाई कमिला झैं लगनशिल तर सानो चित्तका नेताका रुपमा बुझ्दछन् । ‘उनलाई आलोचना गर्न धेरै तर्क मिलेपनि उनको इमान्दारिता र लगनमा सायदै खोट होला ।’ ति केन्द्रीय सदस्यले उनको स्वभावबारे टिप्पणी गरे ।
पोष्टबहादुर बोगटी र पाण्डेलाई माओवादीमा धेरैले तुलना गरी हेर्दछन् । बोगटी प्रचण्डका दाहिने हात भएपनि अरुसँग पनि खुल्न सक्ने संगत गर्ने स्वाभावका थिए । पाण्डे एकलकाटे स्वभावका छन् । निरन्तर खटिने र इमानमा रहने यी दुई नेताले युद्धकालमा छोरा गुमाएका थिए ।
पोष्टबहादुर बोगटीको निधन भएपछि बोगटी परिवारले हरेक महिनाको ३० गते श्रद्धान्जली कार्यक्रम गर्ने गर्दछ । सो कार्यक्रममा पाण्डे नियमित टुप्लुक्क पुग्ने गर्दछन् । सायदै उनले यो कार्यक्रम छुटाएका होलान् ।
जे काम थाल्यो त्यसलाई फत्ते नगरी नछोड्ने पाण्डे सभासदका रुपमा गोरखा र नेताका रुपमा माओवादीमा परिचित थिए । अहिले स्थानीय विकास मन्त्रीका रुपमा राष्ट्रव्यापी परिचय बनाउने अवसर पाउने बताइएकाे छ । पार्टीमा झैं मन्त्रालयमा खटे भने पाण्डेले कर्मचारीलाई भने आच्छुआच्छु पार्नेछन् । माओवादीमा चर्चा छ ।
Hit Raj Pande
maobadi
Sangam Catring