प्रधानमन्त्री दाहालले मन्त्री नै पाएनन्

साउन २६ । आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद विस्तार गर्न कठिन हुँदै गइरहेको छ । सरकार गठनको एक साता बित्दा पनि सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तोक्न नसक्दा मन्त्रिपरिषद विस्तारमा अन्योल बढेको हो । माओवादीले प्राप्त गरेका आठमध्ये पाँच मन्त्रीको नाम टुंगो लगाउन मंगलबार बसेको हेडक्वार्टर बैठक बिनानिष्कर्ष टुंगियो ।
यसअघि प्रधानमन्त्री दाहालसँगै माओवादीका तीन र कांग्रेसका दुई मन्त्रीले शपथ लिएका थिए । सोमबार दाहालले राप्रपाका दुई र नेकपा संयुक्तका एक मन्त्री चयन गरे पनि मुख्या सत्ता साझेदारबाटै नाम टुंगो नलाग्दा ती तीनजनालाई कुन मन्त्रालय दिने भन्ने पनि अन्योलै छ । स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्री दाहाललाई नेविसंघको महाधिवेशनपछि मन्त्रीको टुंगो लगाउने जानकारी दिएको छ भने माओवादी केन्द्रमा मन्त्री हुन खोज्ने आकांक्षी धेरै भएकाले समस्या परिरहेको छ । सत्ता बाँडफाँट क्रममा माओवादीले प्राप्त गरेका पाँच मन्त्रालयमा दर्जनभन्दा बढीले हानथाप गरिरहेको एक हेडक्वार्टर सदस्यले जानकारी दिए ।
अन्य राजनीतिक दलको तुलनामा माओवादीले नै सर्वाधिक रुपमा समानुपातिक समावेशीको कुरा उठाउँदै आएको छ तर मन्त्री चयन गर्दा त्यसो नदेखिए पार्टी नै बदनाम हुन सक्ने भन्दै केही नेताले कुरा उठाइरहेका छन् ।माओवादीले तीन–चार दिनमा मन्त्रीको टुंगो लगाउने तयारी गरेपनि कांग्रेममा भने अझै लामो समय लाग्ने सम्भावना छ । प्रधानमन्त्री दाहालले मन्त्री चयन गर्न नसक्दा मन्त्रालय काम चलाउ रुपमा कर्मचारीले चलाइरहेका छन् । नागरिक दैनिक
PM