अर्थ ओटोमोबाइल News

१५ सय ट्याक्सीका लागि ५० हजार आवेदन

१५ सय ट्याक्सीका लागि ५० हजार आवेदन

Taxi

साउन २६ । सरकारले भूकम्पपीडितलाई खुला गरेको १५ सय ट्याक्सीका लागि मंगलबारसम्म ५० हजारभन्दा बढी आवेदन परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न साउन ५ देखि आवेदन माग गरेको थियो । भूकम्पपीडितले यातायात व्यवस्था विभागमा आवेदन दर्ता गर्नेक्रम जारी छ । ‘अझै एक साता म्याद बाँकी छ,’ विभागका प्रवक्ता वसन्त अधिकारीले भने, ‘भदौ २ सम्म अन्तिम म्याद हो, ७० हजारभन्दा बढी आवेदन दर्ता हुने अनुमान गरेका छौं ।’ आवेदन दिएका भूकम्पपीडितलाई गोलाप्रथाबाट छनोट गरी १५ सय जनालाई ट्याक्सी खरिद गर्न दिइनेछ ।

भूकम्प प्रभावित जिल्लाबाट माइक्रो बस रिजर्भ गरेरसमेत आवेदन दर्ता गर्न पीडितहरू उपत्यका आउने गरेका छन् । बिहान ३ बजेदेखि नै ट्याक्सीको आवेदन दर्ता गर्न पीडितहरू लाइनमा बस्ने गरेका छन् । पानी परेका बेलामा समेत लाइन मिचिने डरले उनीहरू आफ्नो स्थान छाडदैनन् । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले उक्त निर्णय कार्यान्वयन गर्न ढिलाइ गरेका थिए ।

दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ । कान्तिपुर दैनिक

Nepali taxi

विशेष