विदेश
सिरियामा हवाई आक्रमण, ३० को मृत्यु
बिहिबार, २७ साउन २०७३ गते प्रकाशित
साउन - २७ । उत्तरी सिरियाको राका सहरमा बिहीबार इस्लामिक स्टेटस् (आईएस) समूह समर्थकलाई लक्ष्यगरी गरिएको रसियाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।
सो आक्रमणमा परी सर्वसाधाराणसहित ३० व्यक्तिको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार सहरभित्र र बाहिरी इलाकामा १० पटकसम्म भएको यस हवाई आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् ।
मानव अधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले यस आक्रमणमा कति व्यक्ति मारिएका हुन सो भने प्रष्ट पारेको छैन् ।
सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गएर गृहयुद्धमा परिवर्तन भएको थियो । यो आन्दोलन बढ्दै गएपछि आतङ्ककारी समूहहरु अलकायदा र इस्लामिक स्टेट्सले पनि आफ्ना आतङ्कहरु बढाउँदै लगे ।
जारी यस आन्दोलनमा परी सन् २०११ देखि हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस÷एएफपी
syriya