साउन - २९ । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिका–९ बस्ने ६१ वर्षीय रञ्जित विकको गएराति १० बजे आफ्नो भतिजाको घरमा लडेपछि उपचारका लागि काठमाडौँ लानेक्रममा बाटैमा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार रञ्जित गएराति १० बजे बेल्टार बसाहा नगरपालिका–५ स्थित आफ्नो भतिजा पञ्चमान विकको घरमा आएका र भतिजाको घरभित्र प्रवेश गर्ने क्रममा सिँढीबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल विराटनगर लगिएको थियो ।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार हुन नसकेर काठमाडाैँ लानेक्रममा शनिबार बिहान सिन्धुलीको खुरकोट नजिकै बाटैमा उनको मृत्यु भएको इप्रका बेल्टारका प्रमुख प्रहरी निरीक्षक भीमकान्त सिलवालले जानकारी दिए ।
टाउको र मेरुदण्डमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । अहिले शवलाई परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने कार्य भइरहेको प्रहरीले बताएको छ । रासस