अर्थ News

इलाममा ५० प्रतिशत उद्याेग बन्द

इलाममा ५० प्रतिशत उद्याेग बन्द

Ilam

साउन ३० । घरेलु तथा साना उद्योग विकास समिति इलाममा विगतमा दर्ता भएका उद्योगमध्ये आधा मात्र उद्योग सञ्चालनमा रहेको पाइएको छ । समितिमा दर्ता भएका दुई हजार ८३७ वटा उद्योगमध्ये एक हजार ४५२ वटा उद्योगमात्र सञ्चालन भएका हुन् । बाँकी उद्योग बन्द रहेको घरेलुले जनाएको छ ।

चियाका ७९ वटा, राइस मिल २६२ वटा, कम्प्युटर प्रशिक्षणका ६३, दूध डेरीका १७० वटा उद्योग सञ्चालमा आएका छन् । यसैगरी निर्माण व्यवसायीतर्फ १०९, सिलाइ कटाइ १२९, हाउस वाइरिङका १८, ग्रिल तथा काष्ठ फर्निचर ६८, ब्युटिपार्लर ५३ र विविध ५०१ गरी एक हजार ४५२ वटा मात्र उद्योग सञ्चालन भएका हुन् । दर्ता भएका उद्योगमध्ये एक हजार ३८५ वटा उद्योग नियमित नवीकरणसमेत नभएको र निष्क्रिय रहेका कतिपय उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख नवराज राउतले बताए ।

गत चालु आवमा रु तीन लाख बजेटबाट २० जना लघुउद्यमीलाई आर्थिक सहयोग गर्ने जनाइएको छ । आर्थिक पहुँच नभएका, दलित, अपाङ्ग, आदिवासी, विपन्न उद्यमीलाई व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने कार्यालयले जनाएको छ । –रासस

ilam Ilam Uddyog

विशेष