ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र
साउन ३० । एउटा पुल निर्माण गर्न कति समय लाग्छ, जो कोहीको सहजै उत्तर हुन्छ एक÷दुई वर्ष तर जाजरकोटको पश्चिम मोर्क खोलामा पुल निर्माण सुरु भएको चार वर्षमा निर्माण सम्पन्न भएको छैन । जाजरकोट–जुम्ला सडकको छेडा कचाली खण्डको मोर्क खोलामा पुल नबन्दा सर्वसाधारण मर्कामा परेका छन् । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुल निर्माण अलपत्र परेको हो ।
सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पुलको पाँच वर्ष बित्दा जगमात्र ठड्याइएको छ । पुल निर्माणको जिम्मा सर्व उद्धार फ्रेन्डस् जेभी कोटेश्वर, काठमाडौँको फर्मबाट जाजरकोट सुवानाउलीका कर्णबहादुर खड्काले निर्माण कामको जिम्मा लिनुभएको थियो । पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुलको ठेकेदारले समयमा काम नगर्दा निर्माण अलपत्र परेको हो । तीनपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन ।
स्थानीयबासिन्दा खोलामा जोखिम मोलेर वारपार गर्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गलाई खोला तर्न समस्या हुने गरेको छ । सीमा, जुँगाथापाचौर, साल्मा, दशेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाईसमेत समस्या भएको छ ।
Pul Nirman