साउन - ३०। प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्ने भएका छन् ।
चीनमा रहँदा उनले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका निम्ति पठाएकाे निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्नेछन् ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेकाे आमन्त्रणपत्र पनि उनले सम्बन्धित अधिकारीलाई हस्तान्तरण गर्नेछन् ।
'विशेष दूतका रुपमा उपप्रधानमन्त्रीज्यूको चीन भ्रमण हुन लागेकाले लक्ष्य र उद्देश्यमा केन्द्रित रहेर चिनियाँ उच्च अधिकारीहरूसँग छलफल गर्नुहुनेछ। पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै विगतमा भएका आपसी सन्धि सम्झौताबारे पनि परामर्श हुने सचिव वैरागीले जानकारी दिएका छन् । उपप्रधानमन्त्री महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल रहनेछन् ।
अर्का उपप्रम यसैसाता भारत जाँदै
यसैबीच, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रुपमा यसै साता भारत भ्रमणमा जाने भएका छन् ।
'यसैसाता माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको भारत भ्रमण गराउन हामी लागिपरेका छौँ, सकेसम्म चाँडो भ्रमण गराउन भारतका अधिकारीहरूसँग आग्रह गरेका छौँ ।' – सचिव वैरागीले भने ।
आइतबार सार्वजनिक बिदा र भोलि भारतको ७० औँ स्वतन्त्रता दिवसको बिदा परेकाले भारत भ्रमणमा केही विलम्ब भएको उनले स्पष्ट पारे ।
उपप्रधानमन्त्री निधिको भारत भ्रमण शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर तुल्याउन तथा भारतका राष्ट्रपतिको नेपाल भ्रमण गराउनमा केन्द्रित हुनेछ । साथै, राष्ट्रपति विद्यादेवी भण्डारीको स्थगन भएको भारत भ्रमणका बारेमा पनि विशेष दूत निधिले भारतीय उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् ।
सरकारले गत बिहीबार उपप्रधानमन्त्रीद्वयलाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय गरेको थियो । रासस