News

विद्युत्का ३७५ ग्राहक कालोसूचिमा

विद्युत्का ३७५ ग्राहक कालोसूचिमा
bijuli-591x330 साउन - ३१। समयमै विद्युत् महसुल नबुझाउने ३७५ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले कालोसूचिमा राखेको छ । कालोसूचिमा परेका ग्राहकले रु ३६ लाख ३७ हजार विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकलाई कालोसूचिमा राख्ने गरिएको छ । प्राधिकरणको विद्युत् महसुलबापतको बाँकी बक्यौता रकम वृद्धि हुँदै जाँदा गत आवको अन्त्यसम्म रु १० करोड ३३ लाख ७४ हजार पुगेको छ । अघिल्लो आवसम्म बाँकी बक्यौता रकम रु आठ करोड १३ लाख ३९ हजार रहेको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५÷६६ सम्मको सडक बत्तीको सबै महसुलको हिसाब मिलान गरेकामा त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बाँकी बक्यौता रकम बढी देखिएको बताइएको छ । सात वर्षयता सडकबत्तीको मात्रै बाँकी बक्यौता महसुल रु चार करोड ४९ लाख दुई हजार पुगेको छ । सडक बत्तीपछि घर बत्ती (ग्राहस्थ) वर्गको रु तीन करोड ८४ लाख २१ हजार, व्यापारी वर्गको रु ५१ लाख ४१ हजार, उद्योग वर्गको रु ५१ लाख १५ हजार, सिँचाइको रु २० लाख ४३ हजार बाँकी बक्यौता रकम पुगेको छ । विद्युत् प्राधिकरणको धनगढी शाखाअन्तर्गत करिब ४५ हजार ग्राहक रहेका छन् । नगर क्षेत्रमा बसाइ सराइको चाप बढ्दै गएसँगै बर्सेनि विद्युत्का ग्राहक बढ्दै गएका हुन् । रासस

Bijuli Bill

विशेष