News

धुर्मुस–सुन्तलीलाई प्रधानमन्त्रीको सहयोग

धुर्मुस–सुन्तलीलाई प्रधानमन्त्रीको सहयोग
dhurmus-suntali-sitaram-kattel-kunjana-ghimire-nepalaaja भदौ - १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण अभियानमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज धुर्मुस–सुन्तलीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो पहिलो महिनाको तलब फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका हुन् । “भूकम्पपछिको मानवीय विपत्तीलाई राहत दिन तपार्इंहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपार्इंहरुको अभियानमा सँगै छु ।” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले नमुना बस्तीको सडक निर्माणलगायतका क्षेत्रमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै सरकार–नागरिक मिलेर पुनःनिर्माणलाई उत्साहवद्र्धक बनाउने उल्लेख गरे। भेटमा धुर्मुस–सुन्तलीले पुनःनिर्माणको प्रक्रिया छिटो र प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गरेका थिए । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले भने – “प्रधानमन्त्रीले हाम्रो अभियानमा चासो देखाएर भेटका लागि बोलाउनुभो, हाम्रो कामको प्रशंसागर्दै सहयोगको बचन दिनुभयो । यसले हामीलाई थप हौसला र प्रेरणा थपेको छ, हाम्रोतर्फबाट पनि प्रधानमन्त्रीले जनताको पक्षमा यसरी नै काम गर्दै जानुस् भन्यौँ ।” पुनःनिर्माणको काम छिटो सम्पन्न गर्न, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केन्द्रमा जस्तै प्रभावित १४ जिल्लामा पनि सिइओ नियुक्त गरी प्रभावकारी रुपमा काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको धुर्मुसले बताए। उनका अनुसार नमुना बस्ती निर्माणको स्थलगत अवलोकन गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको र जवाफमा प्रधानमन्त्रीले चाँडै भ्रमण गर्ने आश्वासन दिएका छन् । गतवर्ष वैशाख १२ को ‘गोरखा’ भूकम्प गएको चार महिनापछि नमुना बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनले पहिलो चरणमा काभ्रेको डाँडागाउँस्थित पहरी बस्तीमा २० वटा घर निर्माण गरी जिम्मा लगाइसकेको छ । दोस्रो चरणमा गत वैशाख २९ गतेबाट सिन्धुपाल्चोकको गिरानचौरमा ६५ वटा घर निर्माण धमाधम भइरहेको फाउन्डेसनले जनाएको छ । घर निर्माणमा धुर्मुस–सुन्तली आफैँ सक्रियताका साथ लागेका छन् । रासस

Dhurmus Suntali Prachanda Prdhanmantri

विशेष