News

दर्जनबढी सवारी साधन कारबाहीमा

दर्जनबढी सवारी साधन कारबाहीमा
Gadhi भदौ - १। क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मङ्गलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवालालाई बोलाएर सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन दिएका थिए। मन्त्रीको निर्देशन बमोजिम बुधबार उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोटमा ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु चढाउने एक दर्जन बढी सवारी साधनलाई कारबाहीको दायरामा ल्याएको हो । मन्त्री लेखकले ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनमा सिटमा राखिए बाहेकका यात्रुलाई ओराली सुरक्षित यात्रा गराउन सम्बन्धित सबैलाई निर्देशन दिएका थिए । स्रोत र साधनका कारण विभागले सबै जिल्लामा अनुगमन गर्न नसकेको प्रवक्ता वसन्त अधिकारी बताए । “जिल्ला जिल्लामा विभागको कार्यालय छैन, अनुगमनका लागि सवारी तथा यातायात व्यवस्था ऐनमा व्यवस्था भएबमोजिम यातायात निरीक्षक पनि छैनन्, विभागमा अनुगमनका लागि सवारी पनि छैन”– उनले भने । सहरी क्षेत्रमा माइक्रो र टेम्पोमा यात्रु उभ्याएर राख्न नपाइने विभागले जनाएको छ । बसमा भने यात्रुलाई अप्ठ्यारो नपर्ने गरी उभ्याएर राख्न पाइन्छ । रुट परमिटअनुसार सवारी नचलाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ । सोमबार काभे्रपलाञ्चोकमा भएको दुर्घटनामा एकाधिकार (सिन्डिकेट) र चालकको लापर्बाही मुख्य कारण देखिएको प्रवक्ता अधिकारीले बताए । काठमाडौँ–जिरीको रुट परमिट लिई काभ्रेपलाञ्चोकको भित्री गाउँमा लगिनु पनि दुर्घटनाका कारण भएको विभागले जनाएको छ । उपत्यकामा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सात वटा सवारीलाई नियन्त्रणमा लिई कारबाहीका लागि विभागमा पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बताए । उपत्यकामा टाटा सुमो, माइक्रो र टेम्पोले पनि उभ्याएर यात्रा गराउँदै आएका छन् । अनुगमन नहुँदा यो क्रम बढेको यात्रु रामकुमार श्रेष्ठले गुनासो गरे । “ठूला बसमा समेत दायाँबायाँ दुईतिर फर्काएर श्वास पनि फेर्न नसकिने गरी यात्रा गर्न बाध्य हुनुपर्छ, उपत्यकामै पनि एक ठाउँमा अर्को समितिको सवारी जान नपाउने गरी एकाधिकार लादिएकाले सहज यात्रा सम्भव छैन, सरकारी निकायको बेवास्ताले यातायात व्यवसायीलाई कसैले केही गर्न नसक्ने अवस्था छ”– उनले भने । रासस

Gadhi Ramesh Lekhak

विशेष