निगमद्वारा लक्ष्यको ९८ प्रतिशत उडान, आम्दानी ११ अर्ब
भदौ २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा लक्ष्यको झन्डै शतप्रतिशत संख्यामा अन्तर्राष्ट्रिय उडान गरेको छ ।निगमले वर्षभरिमा २ हजार ७६६ उडान गर्ने लक्ष्य राखेकामा २ हजार ७३६ उडान गर्न सफल भएको हो । यो लक्ष्यको ९८ प्रतिशत हो । बारम्बार उडान स्थगित हुँदा वार्षिक उडान लक्ष्य पूरा गर्न असफल हुँदै आएको निगम अन्ततः लक्ष्यनजिक पुग्नुलाई यात्रु तथा पर्यटन व्यवसायीहरूले उत्साहजनक रूपमा लिएका छन् ।
उडान संख्याजस्तै निगमले राखेका धेरैजसो लक्ष्यको परिणाम सकारात्मक देखिएको छ । निगम स्रोतकाअनुसार २०४६ पछि पहिलोपटक निगमको समग्र नतिजा लक्ष्यनजिक पुगेको हो । विगतका वर्षहरूमा पुराना दुई जहाजको भरमा व्यवसाय गर्दै आएको निगम नयाँ जहाज खरिदसँगै वार्षिक प्रक्षेपण तथा लक्ष्यनजिक पुगेको हो ।
“हामी आर्थिक वर्ष ०७२÷७३ का अधिकांश सूचकांकमा लक्ष्यनजिक पुगेका छौं,” प्रवक्ता रामहरि शर्माले भने, “दुई वर्षअघि एयरबस खरिद गरेर उडान सुरु गरेसँगै प्रायः क्षेत्रमा हाम्रा लक्ष्यहरू पूरा हुने क्रममा छन् ।”
निगमले गत आवमा ३ लाख ९८ हजार अन्तरराष्ट्रिय यात्रुलाई सेवा दिने प्रक्षेपण गरेकोमा ३ लाख ४४ हजार यात्रुलाई सेवा दिएको छ। यो लक्ष्यको ८६ प्रतिशत हो । निगमले चालू आर्थिक वर्षमा भने ४ लाख ५० हजार यात्रु बोक्ने प्रक्षेपण गरेको छ भने २० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।निगमले गत आवमा लक्ष्यको ६५ प्रतिशत मात्रै आम्दानी गरेको छ । १६ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकामा ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ।
यस्तै, १३ अर्ब २९ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरेकोमा १० अर्ब ५२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । “निगमले जतिसक्दो कम खर्च गर्ने रणनीति अपनाएकाले खर्च कम गर्न सकेका हौं,” प्रवक्ता शर्माले भने ।
Nepal Airlince