रुँदै रुँदै काठमाडौं छिरेका धुर्मुस कसरी भए सफल
कलकाकारितामा केही गर्ने रहर जागिसकेको थियो । त्यसैले काठमाडौं (झापाबाट) आउने विचार गरें । तर, काठमाडौं पठाएर खर्च धान्ने घरको अवस्था थिएन । बाले रिनधन गरे । जम्मा १७ सय रुपैयाँ भएछ । पैसा थमाइदिँदा यो भन्दा बढी जुटाउन सकिनँ भनेर बुबा भावुक हुनुभयो । म पनि रोएँ । आउँदा घरबाट थाहै नदिई तन्ना पनि लिएर हिँडे । आफ्नो परिवारको अवस्था हेरेर बाटाभरि मन भक्कानिरह्यो । काठमाडौं पुगेकै दिन दुःखद घटना सुनियो । राजा विरेन्द्रको वंशनाश भएको रहेछ । त्यो उमेरमा राजाप्रति सबैले अर्कै खालको श्रद्धा उब्जाएका थिए । देशकै अभिभावक भनेर हामीलाई भनिएको थियो । मलाई देशकै अभिभावक रहेनन् भनेर काठमाडौं आएपछि रुन आयो, रोइरहेँ ।
केही समय अर्कैको घरमा बसेर काम गरियो । त्यसपछि काठमाडौंका गल्लीगल्लीमा भाँडा लिएर बेच्न थालियो । भाँडाको भारी बोकेर कराउँदै बेचियो । मैले कराही, मैनबत्ती स्ट्याण्ड, ग्यास सकिन लागेको–नलागेको जाँच्ने यन्त्र बेच्थेँ । एकदिन मैतीदेवीमा भाँडा बेचीरहेको थिएँ । मैले बेचेको भाँडा नक्कली भनेर एकजनाले निहुँ खोज्यो । मैले होइन भनेँ । तर उसले मलाई नक्कली भाँडा बेच्ने भन्दै भक्कुमार कुट्यो । त्यो कुटाइबाट रातभरि ज्वरो आयो । भोलिपल्टदेखि भाँडा बेच्ने काम पनि छाडिदिएँ ।
राष्ट्रिय नाचघरमा अभिनयको प्रशिक्षण फारम भरेको थिएँ । अडिसन लिइयो । मेरो अभिनय अडिसन लिइरहनुभएका अशेष मल्ल, भुवन चन्दलाई साह्रै राम्रो लागेछ, बधाई दिनुभयो । तर प्रशिक्षण लिन पाउंनेको सूचीमा मेरो नाम निस्केन । म खुब रोएँ ।
म एकदमै फ्रस्टेसनमा गइसकेको थिएँ । यही समयमा मोहन निरौला दाइले परिवर्तन नेपालमा बोलाउनुभयो । सडकनाटक खेल्न अफर गर्नुभयो । नाटक खेलियो । नाटक खेलेपछि उहाँले पारिश्रमिक दिनुभयो । त्यो पारिश्रमिक पाउँदा म धेरै रोएको थिएँ । अभिनय देखाएर पहिलोपल्ट पारिश्रमिक पाइएको थियो । त्यसपछि कलाकार खेम शर्मा चतुरेले हरेस खानु हुँदैन भनेर ढाडसमौ दिनुभएन, अनामनगरको अँध्यारो कोठाबाट उद्धार गरेर बबरमहलमा राम्रो कोठा खोजिदिनुभएको दिन रोएँ । जितु नेपाल दाइले आरआर म्याम्पसमा भेट हुँदा गीताञ्जली नामक सिरियलका लागि स्क्रिप्ट लेख्न दिँदा र अभिनय गर्न पाउँदा रोएँ । (शुक्रबारबाट )
Dhurmus Sitaram Kattel