भक्तपुर, २ भदौ । नेपालको दोस्रो तथा सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरीकुण्डमा बिहिबार बिहानैदेखि मेला भर्न आउनेको भिड लागेको छ ।
रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेवपोखरी मन्दिरमा आएर कुण्डमा नुहाइ महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेकवर्ष उत्तिकै भिड लाग्ने गर्दछ ।
हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस आउने गर्छन् । महोदवपोखरीमा मेला भर्न यहाँ रातिदेखि नै भक्तजनको घुइँचो लाग्ने गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताए।
यहाँको कुण्डमा नुहाइ महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको उनले जानकारी दिए ।
गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण दर्शनार्थी यहाँ आउने पुरानो परम्परा छ । कुण्डमा विभिन्न जातजातिका मानिस आ–आफ्नो परम्पराअनुसार पूजा झाँकी लिएर आइ मेला भर्ने गरेका छन् ।
मेलामा भिडलाई व्यवस्थापन गर्न स्थानीय क्लबले र नगरकोट नाल्दुम पर्यटन विकास समितिले स्वयम्सेवकको कार्य गरेको छ भने नगरकोट चोकबाट मन्दिरसम्मको करिब डेढ किलोमिटर वरबाटै सवारी साधन प्रवेश निषेध समेत गरेको छ ।
मेला रातिसम्म नै सञ्चालन हुने समितिले जानकारी दिएको छ । त्यसैगरी साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन बिहिबार भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदहमा बिहानैदेखि ठूलो मेला लागेको छ । प्रत्येक वर्ष भव्य मेला लाग्ने यस दहमा स्नान गरी महादेवको पूजा गर्न भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।
विशेषगरी स्थानीय नेवार समुदायका गोसाइँकुण्ड जान नसक्ने भक्तजन यस काल दह अर्थात महादेव पोखरीमा आइ स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजनले नयाँ रक्षा बन्धन बाँध्ने गर्दछन् । रासस