डिडिसी भन्छ दुध नयाँ तर बोरा पुरानो (विज्ञप्तीसहित)
भदौ ३ । दुग्ध विकास संस्था (डिडिसी)ले काठमाडौं दुग्ध वितरण आयोजनाको बालाजुमा रिलेभलिङ गरिएको भनिएका पाउडर दूधको उपभोग म्याद ननाघेको दावी गरेको छ । संस्थानले एक विज्ञप्ति जारी गरेर पाउडर दूधको बोरा पुनः प्रयोग गर्दा नयाँ लेभलिङ भएको जस्तो देखिएको दावी गरेको हो । गत वर्षको मधेश आन्दोलनका क्रममा भारतबाट ल्याउनुपर्ने ब्याग आयात गर्न नसकेकाले उद्योगमा प्रयोग भइसकेका बोरा फेरि प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
डिडिसीले बिराटनगरमा उत्पादित पाउडर दूध २५ केजीको बोरामा प्याक गर्ने गरेको छ । यो प्याक गर्ने ब्याग भारतबाटै आउनुपर्नेमा मधेश आन्दोलनका समयमा आपूर्ति गर्न नसकेकोले नयां उत्पादन राख्न पुरानालाई नै प्रयोग गरिएको डिडिसीले जनाएको छ ।संस्थानले आफ्ना सबै उत्पादनहरु गुणस्तरीय रहेको दावी गर्दै भ्रममा नपर्न सर्वासाधारणलाई आग्रह गरेको छ । मंगलबार डिडिसीको बालाजु प्रशोधन केन्द्रमा ४ हजार बोरा रि(लेभलिङ गरिएको पाउडर दूध भेटिएपछि आपूर्ति विभागले शील गरेको थियो ।
DDC