भदाै - ३ । राष्ट्रिय फोटो पत्रकार समूह कास्कीद्वारा १७७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा शुक्रबार आयोजित फोटो पत्रकारिताको महत्व र चुनौती विषयक अन्तक्र्रियामा फोटो पत्रकारको बिमा हुनुपर्नेमा जोड दिइएको छ ।
फोटो खिच्ने क्यामेराको बिमा हुने तर क्यामेरा चलाउने पत्रकारको भने बिमा नहुनु दुःखद कुरा भएको औँल्याउँदै अन्तक्र्रियाका वक्ताहरूले पत्रकारितामा फोटोको महत्वसँगै चुनौती बढ्दै गएको बताए ।
फोटो पत्रकारितालाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले हजारौँ शब्दमा लेखिएका कुराभन्दा एउटै फोटोले पार्ने प्रभाव महत्वपूर्ण हुने बताए ।
“पछिल्लो प्रविधिको विकाससँगै अनलाइन पत्रकारिता, ब्लग र छापा पत्रकारितालाई मात्र नभई सामाजिक सञ्जालमा फोटोको प्रयोग व्यापक हुने गरेको छ” – उनले भने ।
नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले फोटो पत्रकारिताको महत्व बढ्दै गएकै कारण यो एउटा छुट्टै बिटका रुपमा स्थापित बनेको बताए ।
गोरखापत्र संस्थानका सञ्चालक सदस्य नवराज सुवेदीले फोटो पत्रकारिताको प्रभावकारिता दिनप्रतिदिन बढ्दै गएको बताउँदै राज्यबाट सञ्चालित छापा सञ्चारमाध्यमले यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक एवम् राष्ट्रिय फोटो पत्रकार समूह कास्कीका उपाध्यक्ष इन्द्र पौडेल, प्रेस चौतारीका केन्द्रीय सदस्य श्यामनाथ कुँवर, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, राष्ट्रिय फोटो पत्रकार समूह कास्कीका पूर्व अध्यक्ष कृष्णमणि बराल, सल्लाहकार प्रदीप पौडेल, पोखरा फोटोग्राफर सङ्घका अध्यक्ष तुलसीराम सुवेदी, कास्की काँग्रेसका सदस्य नवीन सिग्देल, पत्रकारहरू भीम घिमिरे, सन्तोष पोखरेल, नारायण शाहीलगायतले फोटो पत्रकारको बिमाका लागि राज्यलाई झक्झक्याउनुपर्नेमा जोड दिनुएका छन् ।
सन् १८३९ अक्टोबर १९ बाट विश्वमा फोटोग्राफी दिवस मनाउन थालिए पनि नेपालमा भने १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक तस्बिर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ । -रासस