News
हत्याका अाराेपी पक्राउ
शनिबार, ०४ भदौ २०७३ गते प्रकाशित
भदाै - ४ । महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका– ११ इँटाभट्टीका २७ वर्षीया सविता मल्ल र बुटवल १० शुख्खानगरका २७ वर्षीय किसन गुरुङ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताएका छन् ।
पक्राउ परेका दुबैलाई हिजो नै अनुसन्धानका लागि जिल्ला अदालतबाट समेत म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
बुटवल उप–महानगरपालिका– १२ कालिकानगरस्थित डेरागरी बस्दै आएकी ४० वर्षीय कमला न्यौपानेको गत साउन २७ गते राति आफ्नै कोठामा हत्या भएको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ गोरकट्टा घर भई लामो समयदेखि परिवारसहित कालिकानगरमा भाडामा बस्दै आएकी कमलाको आफ्नै कोठामा विद्युतीय मल्टिप्लगको तारले घाँटी कसेर हत्या गरी उनी सुत्ने पलङभित्र शव राखेर हत्यारा फरार भएका थिए ।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, पक्राउ परेकी सविता मल्लको साथबाट कमला न्यौपानेले लगाउने सुनका गरगहना समेत बरामद गरिएको छ । बरामद गरिएका गरगहनाका आधारमा हेर्दा हत्या लुटपाटकै लागि गरिएको हुन सक्ने अनुमान प्रहरीको छ ।
हत्या गरिएकी कमला र हत्याको आरोपमा पक्राउ परेकी सविता एकवर्ष पहिलेसम्म एउटै घरमा डेरागरी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको समेत प्रहरीले जनाएको छ ।
Butawal
hatya ka aropi pakrau