बजेट अभावले ७ वर्ष अघि रोकिएको महाकाली नाच र भैरब नाच भक्तपुरमा सुरु
भदौ ५ । इसापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा सञ्चालन भएर सात वर्षअघि बन्द भएको महाकाली नाच नगदेशमा शनिबार रातिदेखि सुरु भएको छ ।
अर्थाभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द सो नाच स्थानीय युवाको सक्रियतामा सुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताए । नाचका संयोजक तुइलाल ज्यापूले गाईजात्राको भोलिपल्टको रातिदेखि सञ्चालन हुने महाकाली नाच चार दिनसम्म राति करिब ७ बजेदेखि सुरु भएर १२ बजेसम्म चल्ने बताए । युवा पुस्ता रहेको नाचमा आठ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता छ ।
मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब रु आठ लाखदेखि रु १० लाख खर्च हुने भएपछि स्थानीय बासिन्दाबाट रकम सङ्कलन गरिएको छ । आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिन अक्षयकोषको स्थापना गर्ने तयारी भएको महाकालीगण नाच व्यवस्थापन समितिका कृष्णलाल घजुले जानकारी दिए । महाकाली नाचमा महाकाली, महालक्ष्मी, कौमारी, सिंह र म्ह्यखा, मैसासुर दैत्य एक एक, भूत भैरव, कवं, ख्याक र माकः (बाँदर) दुई दुई तथा बेता चार गरी १८ देवगणको सहभागिता हुन्छ । नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, चोर, जल, अग्नि, वायु, भूकम्प र चट्याङको भय नहुने जनविश्वास छ । नाचको सुरुआत र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा आठ कुखुरा र दुई बोकाको बलि चढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु घजुले जानकारी दिए । नर्तक (कलाकार)ले लगाउने पोसाक, मुकुन्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित देखिन्छ । महाकाली नाचमा विभिन्न २१ ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शनी हुनेछ । त्यसैगरी मध्यपुरथिमिमा आठ वर्षअघि नै लोप भई गत वर्षदेखि स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच पनि सुरु भएको छ । मध्यपुरथिमि नगरपालिका– १० तुलननी र कुमाननीका बासिन्दाको पहलमा लायकु दरबारबाट नाच सुरु भएको नाच सञ्चालन एवम् व्यवस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । दुई दुई भैरव र दाःगि (कुमारी) तथा एक ज्यापु गःचा गरी पाँच देवगण रहने सो नाचका लागि यस पटक तुल्सीकृष्ण प्रजापति र विकास प्रजापति भैरव, विनोद प्रजापति र विश्वास प्रजापति दाःगि र आरएन प्रजापति ज्यापु गःचा हुँदैछन् । उनीहरुले एक महिनादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तयारी गरिरहेका थिए । गाईजात्राको भोलिपल्टको रातिदेखि सुरु हुने सो नाच चार रातसम्म नचाइने छ । नाच सञ्चालनका लागि खर्च हुने करिब रु आठ लाख स्थानीयवासीबाट सङ्कलन गरिएको श्रेष्ठले जानकारी दिए । धा ंः बाजाका ३० देखि ३२ तालमा नचाइने सो नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ । नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोचारण गरी नाच निकालिइसकेपछि समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने र शुद्ध भएर बस्नुपर्ने प्रावधान छ । प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत, र पिशाचले दुःख दिन थालेकाले त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःका रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबा भैरव नाच निकाली भूत, प्रेत र पिशाच भगाउने गरिएको जनविश्वास छ । त्यसैगरी मध्यपुरथिमिकै बोडेमा पनि गए राति १२ बजेदेखि प्रसिद्ध नीलबाराही नाच सुरु भएको छ । नाच राति, बिहान र दिउँसो टोल टोलका चोक चोकमा देखाउने गरिन्छ । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराहीस्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाका तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ । तान्त्रिक नियममा बाँधिएर रहनुपर्ने सो नाचमा देवगणमा भैरव एक, द्वारपाल दुई तथा बाराही, कुमारी, गणेश र सिंह चार चार गरी १९ देवगणको समूह रहेको हुन्छ । देवता र देवताका सहयोगी १९, १९, बाजा बजाउने नौ र गुरु छ गरी नाचमा १०० जनाभन्दा बढी व्यक्ति क्रियाशील रहने हुन्छन् Bhairab Nach