आफ्नै बलबुतामा सानै उमेरमा देश हाँक्ने विश्वनेताहरु
डा. स्वर्णिम वाग्ले, योजना आयोगका पूर्व सदस्य
भर्खरै निर्वाचित विद्यार्थी नेता नैनसिंह महरको ४४ वर्षे उमेरबारे व्यापक टिप्पणी भयो | नेतृत्व विकास र राजनीतिमा युवाका लागि अवसरका कुरा उठे | विश्वकै सर्वशक्तिशाली पदमा बराक ओबामा निर्वाचित हुँदा ४७ वर्षका थिए भने बिल क्लिन्टन ४६ | एक पुस्ता अघि जन एफ. केनेडी अमेरिकी राष्ट्रपति बन्दा ४३ वर्षका थिए, दुई पुस्ता अघिका थियोडोर रुजभेल्ट केवल ४२ | अमेरिकामा त पार्टीको छेकबार नहुने र जनताको मतबाट सोझै चुनिने हुनाले, सक्नेले आंटने, बुढ्यौली वा वरिष्ठताको आड लिन नपर्ने भनिएला | तर दलीय संसदीय व्यवस्था भएको बेलायतको ताजा इतिहास झन् प्रेरणादायी छ | हालै राजीनामा दिएका डेभिड क्यामरन ४३ वर्षमा प्रधानमन्त्री बनेका हुन् | उनी अघि १३ वर्ष राज गरेको लेबर पार्टीका टोनी ब्लेयर प्रधानमन्त्री बन्दा ४३ वर्ष र उनका अर्थमन्त्री (एवं उत्तराधिकारी) गर्डन ब्राउन ४६ वर्षका थिए | त्यसअघि सात वर्ष बेलायत हाँकेका जन मेजर प्रधानमन्त्री हुँदा ४७ वर्षका थिए | बेलायतका सबभन्दा कान्छा नेता भने विलियम पिट (William Pitt 'The Younger') हुन् जो २४ वर्षको उमेरमै प्रधानमन्त्री बने |
सन् १७८३ देखि १८०६ सम्म दुई पटक गरि १९ वर्ष शासन गरे उनले चरम राष्ट्रिय संकटका माझ – अमेरिकी स्वतन्त्रता युद्धले थोपरेको आर्थिक समस्या, राजा जर्ज तृतीयको पागलपन, फ्रान्समा क्रान्ति र नेपोलियनको उदय, इत्यादि | संसदको लगाम र राजाको निगाह दुवै व्यवस्थापन गर्न पर्ने समय | हाम्रै नेपालमा जंगबहादुर कुँवरले ३० वर्षकै उमेरमा सत्ता हत्याएका हुन् कोतपर्व पछि तर हिंस्रक राजा-रजौटाको युग थियो त्यो | आधुनिक नेपालका ठुला नेता वीपी कोइराला स्वयं ३६ वर्षमा गृहमन्त्री र ४५ वर्षमा प्रधानमन्त्री भए | अझैपनि कांग्रेसमा पंचायती व्यवस्थाका बेला जेल परेका, निर्वासित भएका वा विद्यार्थी राजनीति गरेकाहरुले ठुला पदको आशा गर्नु अस्वभाविक होइन | तर पुरानो संघर्षको एकपटक “ब्याज” नखाएको सायद कोहि नेता बाँकी रहेनन् अब किनकि ३० वर्षे पंचायत ढलेको पनि २५ वर्ष नाघी सक्यो | अबका तरुणहरुका लागि आफ्नो प्रतिभाको बलमा माथि उठ्ने बेला आयो | विलियम पीटको पछिल्लो जीवनी लेख्ने विद्वान नेता विलियम हेग पनि ३६ वर्षमै टोरी पार्टीका नेता चुनिएका थिए सन् १९९७ मा तर प्रधानमन्त्री बन्ने सौभाग्य उनलाई जुरेन | आफूभन्दा कनिष्ठ डेभिड क्यामरनको मंत्रिपरिषदमा ५ वर्ष सेवा गरी गत साल ५४ वर्षको उमेरमा उनले सक्रिय राजनीतिबाट सन्यास लिए |
(वाग्लेले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको टिपोट । उपयोगी भएकाले यहाँ साभार गरिएको हो ।)
Primeminiser in 24 year age william pitt
William Pitt 'The Younger'