प्रविधिमैत्री र सीपमूलक शिक्षामा जाेड दिन मन्त्री पौडेलकाे अाग्रह
भदाै - ५ । बिनाविभागीय मन्त्री धनीराम पौडेलले जनमैत्री, प्रविधिमैत्री र सीपमूलक शिक्षाका लागि अगाडि बढ्नु आजको आवश्यकता रहेको बताएका छन् ।
अाइतबार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले आयोजना गरेको पाठ्यक्रम दिवसमा बोल्दै उनले अहिले प्रविधिको युग भएकाले अब पाठ्यपुस्तक मोबाइल एवम् चिप्सबाट पढ्न सकिने व्यवस्था हुनुपर्ने बताए ।केन्द्रले प्रविधिमैत्री पाठ्यपुस्तक निर्माणमा जुट्नु सकारात्मक रहेको बताउँदै उनले पाठ्यपुस्तकको अभावलाई टार्न पनि प्रविधिमैत्री पाठ्यक्रमको व्यवस्था हुनुपर्ने आैल्याए । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रको सिडिसि नेपाल (CDC Nepal) नामको एन्ड्रोइड एप्स पनि सार्वजनिक गरेका छन् । मन्त्री पौडेलले त्यस अवसरमा केन्द्रको शिक्षा पत्रिका र जीवनोपयोगी सीपमा आधारित पाठ्यक्रम र अक्षराङ्कन पद्धतिसम्बन्धी सात प्रदेशस्तरीय कार्यशाला (२०७३) को प्रतिवेदनको सँगालोसमेत सार्वजनिक गरेका थिए । कार्यक्रममा ‘पाठ्यक्रमः हिजो र आज’ वृत्तचित्र प्रदर्शनी पनि गरिएको थियो ।
मन्त्री पौडेलले केन्द्रका पूर्वप्रमुख गणेशबहादुर माली, जगन्नाथ अवा, अर्जुनबहादुर भण्डारी, लक्ष्मीप्रसाद खत्री, चित्रप्रसाद देवकोटा, खगराज बराल र दिवाकर ढुङ्गेललाई सम्मान गरेका थिए ।त्यसैगरी, केन्द्रका दीर्घसेवी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारी गजेन्द्रलाल प्रधान, भगतसिंह वाग्दास, शम्भुप्रसाद दाहाल, आशाकाजी महर्जन, सुमित्रा अमात्य, बालकृष्ण अधिकारी, रवीन्द्र नेपालीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा शिक्षा मन्त्रालयका निमित्त सचिव डा डिल्लीराम रिमाल र सहसचिव अम्बिकाप्रसाद रिमालले केन्द्रले सार्वजनिक गरेको एन्ड्रोइड एप्सले शिक्षकदेखि विद्यार्थीसम्मलाई सजिलो बनाउने बताएका छन् ।
कार्यक्रममा एप्सका बारेमा जानकारी दिँदै केन्द्रका निर्देशक बाबुराम पौडेलले एप्सको उपयोगले केन्द्रबाट विकास भएका पाठ्यक्रम, पाठ्यपुस्तकलगायतका विभिन्न सामग्री सहजरुपमा विद्युतीय उपकरणबाट उपयोग गर्न सकिने बताए। एप्सका माध्यमबाट अब विश्वका कुनै पनि देशमा बसेर केन्द्रले विकास गरेको पाठ्यसामग्री हेर्न र पढ्न सकिने उनको भनाइ थियो । एप्सले अब पाठ्यपुस्तकको अभावमा पनि सिकाइसम्बन्धी कार्य गर्न सकिने बताउँदै निर्देशक पौडेलले पुस्तक अभावका बेलामा एन्ड्रोइड मोबाइलबाट हेर्न र पढ्न सकिने व्यवस्था गरेको चर्चा गरे । एप्समा हाल पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यक्रम गतिविधि, समाचार र पाठ्यक्रम विकास केन्द्रका सूचना हेर्न सकिने उनले बताए ।