प्रधानमन्त्री ज्यू, यो सहमति जनताको आँखामा छारो हाल्नका लागि थियो ?
भदौ ६ । सरकार ढाल्नु पर्ने कारण प्रष्ट पार्दै सत्तारुढ दल नेपाली कांगे्रेस र माओवादीले सात बुँदे सहमति गरेका थिए ।
असार २८ मा भएको सहमति पत्रको बुँदा नम्बर पाँचमा लेखिएको थियो, ‘देशमा शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गर्दै कालोबजारी, कृत्रिम अभाव, महंगी अन्त गरि दैनिक उपभोगका सामग्री सहज उपलब्ध हुने व्यवस्था गर्ने ।’
मुलुकमा सुरक्षाको अवस्थाबारे चर्चा गर्नुअघि नै चालीस जनाको एकै चिहान भएको काभ्रे बस दुर्घटनाको स्मरण हुन्छ ।
दैनिक उपभोगका सामग्री सहज उपलब्ध हुने व्यवस्था गर्ने भन्ने वाक्यांश पनि सहमति पत्रमा थियो । तर तीन दिनयता बजारमा पेट्रोलको हाहाकार छ । बजारमा पेट्रोलको हाहाकार हुनुको कुनै कारण छैन । किनभने अहिले नाकाबन्दी छैन, बन्दहड्ताल छैन, तेल बोक्ने टैंकरका चालकले हड्ताल गरेका छैनन् । भारतीय आयल कर्पोरेसनले तेल दिन बन्द गरेको पनि छैन ।
फेरि किन पेट्रोलको हाहाकार ? सार्वजनिक भएका सूचनाअनुसार भदौ २, ३ र ४ गते सार्वजनिक बिदा पर्यो । त्यसअघि चानचुन बहानाले निगमले पेट्रोल दिएन । लगातार ४–५ दिन पेट्रोल नदिएपछि बजारमा अभाव भयो ।
अहिले ट्यांकी सफाई प्रक्रियामा जाँदा पेट्रोल अभाव भन्ने गरिएको छ । पेट्रोलियम पदार्थको मौज्दात पनि राख्ने गरिएको छ । सम्भावित अभाव टार्न पूर्वतयारीका रुपमा जे काम गरिनु पथ्र्यो त्यो देखिएन । जसका कारण अभाव चुलियो ।
यो अभाव एक दुई दिनमा हट्ला । तर अहिले पेट्रोलपम्पहरुमो उपभोक्ता तातो घाममा घण्टौ लाइन बस्न बाध्य छन् । यो सास्ती उपभोक्ताले के अपराधका कारण ब्यहोर्नु परेको हो, स्पष्ट छैन ।