
भदौ – ६ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र प्रधान्मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बीच कान्तिपथस्थित बहादुर भवनमा भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले देशका परिवर्तित राजनीतिक अवस्थाको बारेमा उपराष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ । उनले भोली (मंगलबार)सम्म आफू नेतृत्वको मन्त्रीपरिषद्ले पूर्णता पाउने जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
भेटमा उपराष्ट्रपतिले उपराष्ट्रपतिको कार्यालय र आवासको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थाअनुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरि उपराष्ट्रपति भवनको लागि स्थान तोकिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको कार्यालय र निवास भवनका लागि आफू गम्भीर भएको बताउनुहुँदै मन्त्रीपरिषद्ले पूर्णता पाउनासाथ निर्णय लिने बताए । भेटमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे पनि साथमा थिए । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनमा रहेको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
nandabahadur pun
Prachanda