भदाै - ७ । व्यवस्थापनको कमजोरीका कारण महोत्तरीको भरतपुरस्थित जनता उच्च माविको अवस्था नाजुक बन्दै गएको छ ।
विसं २०१० मा स्थापित सो विद्यालय पछिल्लो समयमा आएर व्यवस्थापनको बेवास्ताका कारण अध्यापन लगायतका क्षेत्र प्रभावित हुँदै आएको हो ।
कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा पछिल्लो समयमा शिक्षकको अभाव, पढाइमा बेवस्था, खानेपानीको अभाव, फोहर, सुलभ शौचालयको अभावजस्ता समस्याले गाँजिएको छ ।
विद्यालयको प्राङ्गणमा पानीकोे मुहान सुकेपछि तीन महिनादेखि स्वच्छ खानेपानीको अभाव भएको छ भने १५ महिनादेखि सो विद्यालयमा माध्यमिकस्तरका अङ्ग्रेजी विषयको शिक्षकको अभाव हुँदा कक्षा ९ र १० मा अध्ययरत विद्यार्थी कोचिङ सेन्टरमा अध्ययनका लागि प्रतिमहिना रु ५०० तिर्न बाध्य हुनुपरेको सम्बद्ध विद्यार्थीले बताएका छन् ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र नारायण सिंह भन्छन्– ‘नयाँ शैक्षिकसत्र सुरु भएको पाँच महिना बित्न लाग्दासमेत हालसम्म गणित र अङ्ग्रेजी विषय नियमित रुपमा पठनपाठन हुन सकेको छैन ।’
कहिलेकाहीँ पाँचौँ घन्टीमा गएर शिक्षकले विद्यार्थीको हाजिरी लिने गरेको कक्षा १० की छात्रा आशाकुमारी महतोले बताइन् । कक्षा १० मा १६० विद्यार्थी हुँदासमेत सेक्सन नछुट्याउँदा आफूहरुलाई बस्नका लागि बेन्च डेस्कको अभाव हुनुका साथै पठनपाठन समेत समस्या भएको छात्रा महतोको गुनासो छ ।
विद्यालयको अवस्थाबारे विभिन्न समयमा विद्यालय व्यवस्थापन समिति तथा अभिभावक भेलामा र लिखितरुपमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराइसकिएको प्रधानाध्यापक रामनारायण साहले बताएका छन् । अबको केही दिनमा हरेक गतिविधिलाई सुधार गर्ने पक्षमा आफू प्रयत्नशील रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयमा शिक्षकको अभाव रहेको समयमा यस विद्यालयमा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक रामबहादुर लामिछानेलाई सहमतिबिना सरुवा गर्दा कक्षा ९ र १० मा नियमित रुपमा अङ्ग्रेजी विषयको पढाइमा अवरुद्ध भएपछि तत्कालीन जिल्ला शिक्षा अधिकारीलाई जानकारी गराउँदा आश्वासन मात्र दिएको विद्यालयका पूर्व अध्यक्ष अशोककुमार महतोले बताए ।
विद्यालयको अङ्ग्रेजी विषयको शिक्षकका लागि आफूले शिक्षक सेवा आयोगसमक्ष माग गरिरहेको र शिक्षक सेवा आयोगको नतिजा प्रकाशित भएलगत्तै प्राप्त हुने पहिलो चरणमै स्थायी शिक्षक पठाउने जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले प्रतिबद्धता व्यक्त गरेका छन् ।