भदाै - ७ । सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ४० प्रतिशत पैदल यात्रु रहेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको संयुक्त आयोजनामा मंगलबार आयोजित सडक सुरक्षा सचेतना कार्यक्रमको समापन कार्यक्रममा बोल्दै महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले आव २०७२÷७३ मा सडक दुर्घटनामा दुई हजार छ जनाको निधन भएकामध्ये ८०० जना पैदल यात्रु रहेको बताएका छन् ।
उनले भने, 'बर्सेनि सडक दुर्घटनाबाट यति धेरै मानिसको मृत्यु हुने गरेको छ यसलाई न्यूनीकरण गर्न सबैले आफ्नो घर र छरछिमेकमा जनचेतना जगाउनु आवश्यक छ ।' अर्यालले एकछिनको हतारोमा मानिसको ज्यान जाने गरेको भन्दै हतार नगरी बाटो काट्न वा सवारी चलाउन आग्रह गरेका छन् ।
महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले गत साउन ९ गतेदेखि काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थीमार्फत पैदलयात्रु र चालकलाई जनचेतना दिएको बताए। उनले भने 'जनचेतना दिएका पैदलयात्रु तथा चालकले पुनः गल्ती गरे कानुनी कारबाही गर्छौं ।'
जनचेतनाका लागि नोबेल स्कुल, लालीगुराँस, श्वेतसदन, जुद्धोदय, इपिएसलगायत १४ विद्यालय र लिङ्कन, सेन्जिभियर्स, मोर्गान, ओरियन्ट कलेजका विद्यार्थी सहभागिता रहेको प्रधानले बताउनुभयो । कार्यक्रममा स्वयम्सेवक विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।