देश रोजगार News

अरबमा संकट नेपालमा असर

अरबमा संकट नेपालमा असर

saudi-arebia

भदौ ९ । कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ । ठूला कम्पनीले कामदार कटौती गर्न थालेपछि वैदेशिक रोजगारमा गएका नेपाली बिचल्लीमा परेका छन् । संकट गहिरिएपछि साउदी अरेबियाले विदेशी कामदार भित्र्याउन थप कडाइको घोषणा गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

गत वर्ष नेपालबाट एक लाख ३८ हजार कामदार साउदी अरेबिया गएका थिए । यो संख्या नेपालबाट रोजगारीका लागि बिदेसिनेको एकतिहाइ भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

वर्षेनी बिदेसिनेको संख्या बढे पनि अरब मुलुकको संकटले कामदारलाई र त्यसले नेपालको गाउँसम्म असर पर्ने थापाको भनाइ छ । ‘तेलको मूल्य माथि गएन र आफ्नो वित्तीय नीतिमा उनीहरूले केही कडा कदम चाले भने त्यसको असर कामदारको तहमा आइपुग्छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भने, ‘यसको प्रभाव हाम्रो गाउँ–गाउँसम्म पुग्नेछ ।’

अरब संकटको सम्भावित प्रभावबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरिएको अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख कृष्णप्रसाद देवकोटाले बताए । ‘खाडी र मलेसियाका कम्पनी टाट पल्टेर नेपाली फर्कने अवस्था आयो भने त्यसको आर्थिक क्षेत्रमा कस्तो असर पर्छ भनेर अध्ययनसहितको सुझाब मागिएको हो,’ देवकोटाले भने, ‘त्यस क्षेत्रमा भएको संकटले भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चीतिलगायतमा कस्तो असर पर्छ, त्यो अध्ययन गर्नुपर्ने भएकाले सुझाब मागिएको छ ।’ राष्ट्र बैंकको सुझाबकै आधारमा सरकारले आवश्यक कदम चाल्ने उनको भनाइ छ । नयाँ पत्रिकाबाट

Nepali Rogari

विशेष