ललितपुरमा ५० वर्षपछि पुनः जग्गा नाप्न सुरु
भदाै - ९ । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ ।
विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुणा परिवर्तन हुँदासमेत पुनः नापी हुन नसकेको हो । सामान्यतया जग्गाको स्वरुप ६० प्रतिशत परिवर्तन हुँदा फेरि नापी गर्नुपर्ने मान्यता छ । लामो समयसम्म पुनः नापी हुन नसक्दा जग्गाको कित्ता ५-६ सय प्रतिशतसम्म परिवर्तन भइसकेको छ ।
ललितपुरका सैँवु, चक्रपथ वरपरका स्थानमा पुनः नापी भइरहेको छ । इमाडोल, टिकाथली लगायतका स्थानमा भर्खरै मात्रै नापी सकिएको छ । विशेष गरेर जग्गाको स्वरुप धेरै परिवर्तन भइरहेका ठाउँमा पुनः नापी भइरहेको प्रमुख नापी अधिकृत बुद्धिमान जैसीले बताएका छन् । उनले भने, “६० प्रतिशत परिवर्तन हुँदा नापी गर्ने गरिएपनि यी स्थानमा त्यो भन्दा कयौँ गुणा परिवर्तन भइसकेको छ ।
समय र जग्गाको भाउका कारणले जग्गाधनीको चासो बढेको हो । कतिपय जग्गाधनीले भने नाप–नक्सा हुँदासमेत उपस्थित नहुने गर्छन् । जग्गाधनी उपस्थित हुँदा फिल्डमा नै विवाद टुङ्गिने भएपनि नहुँदा लम्बिने गर्छ । उनले भने, “कतिपय जग्गाधनीले पुर्जा, नक्सा आफूसँग छँदैछ भन्ने सोच्ने पनि छन् ।” पहिले चासो नदेखाए जस्तो गर्नेहरु पनि पछि आफैँ विवाद झिक्ने गर्छन् । जग्गाधनी पछि आफ्नो अनुकूल समयमा जग्गा नाप्न भन्ने गरेपनि कार्यालयले त्यो समयमा नभ्याउने उनि बताउँछन् ।
ललितपुरका इमाडोल, सैँवु, धापाखेल, सुनाकोठी, टिकाथली लगायतका नगर नजिकका ठाउँमा जग्गाको स्वरुप परिवर्तन भइरहेका छन् । विसं २०२१-२२ सालमा नापी हुँदा इमाडोल गाविसमा चार हजार कित्ता जग्गा थियो । अहिले पुनः नापी हुँदा १८ हजार जग्गा कित्ता बनेका छन् । इमाडोलमा चारसय प्रतिशतभन्दा बढी परिवर्तन भएको पुनः नापीले देखाएको छ । अहिले नापी भइरहेका ललितपुर उपमहानगरपालिका अन्तर्गतका क्षेत्र, सैँवु, इमाडोल, टिकाथलीलगायत सबै ठाउँको उत्तिकै मात्रामा परिवर्तन भइरहेको छ ।
उनि भन्छन्, “पहिले खेतले भरिएको देखिने भएपनि अहिले तीनै ठाउँ घरले भरिएको नक्साले देखाएको छ ।” द्वन्द्वकालमा कुनै पनि जिल्लामा जग्गा नापीको काम अघि बढ्न सकेको थिएन । विभिन्न जिल्लामा सुरु भए पनि सुरक्षाको कारण अघि बढ्न सकेन ।
त्योभन्दा पहिले समेत जग्गाको नापी गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको थिएन । पछिल्लो समयमा नापी विभागले अछाम, अर्घाखाँचीजस्ता द्वन्द्वकालमा रेकर्ड नष्ट भएका जिल्लामा पुनः नापीलाई प्राथमिकता दिएको छ ।
jagganapi
lalitpur